अस्ति जेठ १५ गते १७औं गणतन्त्र दिवस पनि मनाइयो । मानिशहरूले बिर्सिए कि भनेर शहिदगेटबाट नेपाली सेनाले एकाबिहानै बिगुल फुकेर सो दिवसको जनाउ पनि दिए । गणतन्त्र दिवसका अवसरमा सातै प्रदेशमा प्रभातफेरी, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रमहरू भए, भाषणभूषण र वक्तव्यबाजी पनि भए । स्वदेशमा मात्र नभई विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावाशहरूमा समेत विभिन्न कार्यक्रम आयोजना गरिए । नेपालका झण्डाहरू फेरि फर्फराइए । कत्ति ठाउँमा बोतलहरू पनि फोरिए ।
लडेर ल्याएको गणतन्त्र दिवस त ठीकै होला । नलडिकनै गणतन्त्र दिवसकै दिन आउने बजेट यसपालि नि आयो । तर जनताका लागि के आयो ? बजेट वा आर्थिक विधेयकहरूसँग गणतन्त्रको के सम्बन्ध छ ? गणतन्त्रबाट चैं देशले के पायो ? जनताले के पाए ?
देश र जनताले त मन्त्री नै मन्त्री पाए नि ! मन्त्रीका अगाडि एक मन्त्री, मन्त्रीका पछाडि दुई मन्त्री अर्थात् अगाडि मन्त्री पछाडि मन्त्री । मन्त्रीमाथि मन्त्रीवाला यो देशमा गणतन्त्रको मूलमन्त्र नै मन्त्री हो नि । देशैभरि मन्त्री नै मन्त्री भए पनि मन्त्रीलाई प्रश्न गर्ने कोही भएन । कसैले प्रश्न गरिहाल्यो भने प्रश्न गर्ने चैं जेल जाने भयो । मन्त्री पनि देश या राज्यको नभई विभाग विभागको, दल दलको । दल उनीहरूका, उनीहरू दलका । उनीहरू सरकारका मन्त्री र उनीहरू नै सरकार । मन्त्रीलाई सल्लाह दिने सल्लाहकार । दृश्य यस्तो छ कि सल्लाहकार मन्त्रीहरूलाई डुबाउनतिर लागे र मन्त्रीहरू देशलाई । तर पनि गणतन्त्र टिकिरहेकै छ त ।
भुइँमा बसिरहेका भुइँ–मान्छेहरूले गणतन्त्रको पक्षमा ताली बजाइरहेका छन्, जसको गणतन्त्रसँग केही साइनो छैन । शायद तिनै मानिसका कारण पनि गणतन्त्र टिकिरहेको छ ।
मानिशहरू भन्छन्, गणतन्त्रले गरीबी मेटाउनुपर्छ, राजस्व चोरी हटाउनुपर्छ । म त भन्छु चोरी आफ्नो ठाउँमा छ । तर राज्यबाटै हुने डकैती पनि रोकिनुपर्छ नि ।
अब म यो पत्ता लगाउने कोसिसमा छु कि गणतन्त्र टिकिरहेको चैं कसरी छ त ? यसकारण होइन कि म गणतन्त्र उखेल्ने चक्करमा छु । तर यत्ति कुरा चैं जान्न आवश्यक छ कि जब देशमा सबै क्षेत्र समस्यामा डुबेका छन्, सबैथोक ढलिरहेका छन् । तर गणतन्त्र मात्र कसरी टिकिरहेको छ त ? यो आफ्नै बलबुतामा टिकिरहेको छ या यसलाई टिकाइराख्न कसैको स्वार्थ छ ? हामीले गणतन्त्रको पक्षमा वा विपक्षमा ताली बजाइरहेका छैनौं, तर पनि ताली चैं बजिरहेको छ । ती भुइँमा बसिरहेका भुइँ–मान्छेहरूले गणतन्त्रको पक्षमा ताली बजाइरहेका छन्, जसको गणतन्त्रसँग केही साइनो छैन । शायद तिनै मानिसका कारण पनि गणतन्त्र टिकिरहेको छ ।मानिशहरू भन्छन्, गणतन्त्रले गरीबी मेटाउनुपर्छ, राजस्व चोरी हटाउनुपर्छ । म त भन्छु चोरी आफ्नो ठाउँमा छ । तर राज्यबाटै हुने डकैती पनि रोकिनुपर्छ नि ।
अब यो पत्ता लगाउन धेरै कठिन छ कि गणतान्त्रिक नेपालमा गणतन्त्र चाहिँ कहाँ छ ? सबैतिर सानाछोटे नवराजाहरू मात्रै भएको मुलुक कसरी गणतन्त्र ? दोस्रो समस्या यो छ कि गणतन्त्रको जनतासँगको नाता कसरी पत्ता लगाउने ? जब यो देशमा गणतन्त्रबारे तर्क कुतर्क चल्थ्यो, त्यसबेला गणतन्त्र थिएन । जब १७ वर्ष अगाडि गणतन्त्र आयो, तब गणतन्त्रका बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
फुर्सद किन छैन भने सबै नेताका र जनताका पनि आ–आफ्नै दु:ख छन्, आ–आफ्नै समस्या छन् । जनतालाई र तिनका छोराछोरीलाई रोजगारी पाउनु छ वा कुनै न कुनै जुक्तिले विदेश जानु छ । नेतालाई टिकट पाउनु छ । चुनाव जित्नु छ । मन्त्री बन्नु छ । अनि आफ्नो र आफ्नाका लागि यथासम्भव जे गर्न सकिन्छ, त्यो गर्दिनु छ । जनता दालभातको जोहोमा जोत्तिने, नेताहरू कुर्सी, ठेक्कापट्टामा मात्रै ठोक्किने । त्यसैले गणतन्त्र जनताका नाममा होला, तर नेताका जनताचाहिँ उनका आफन्त मात्रै हुन् । यसमा कसैले भ्रम पालेको छ भने पाल्नेकै दोष हो । फाल्ने कुरालाई पालेपछि के हुन्छ ? मुद्रामा बिकेको, निगाहामा टिकेको, चाप्लुसीको गमलामा हुर्केको गणतन्त्रमा स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियताको कुरा त के गर्नु र ?
देश आर्थिक रूपमा तलतल धसिँदो छ । तर बेतुकका बिदा भारी छन् । देशको बजेट पूरै घाटामा छ । तर रिणमाथि रिण थप्ने काम जारी छ । हेर्दा हेर्दै देश विदेशी रिणको पासोमा फसिसकेको छ । तर नेताहरूको विदेशीका गुलामीमा लाइन लाग्ने परम्परा गहिरोसँग बसिसकेको छ ।
गणतन्त्रमा नेताहरूको रुचि समाजका लागि नभई केबल व्यक्तिगत रुचिका कारणले हो । यदि उनीहरू मन्त्री, मुख्यमन्त्री या प्रधानमन्त्री नै छन् भने पनि यस कुराको देशसँग कुनै सीधा सम्बन्ध छैन । उनीहरूको लाभ प्राप्तिका प्रयत्नमा यदि देशको पनि लाभ भयो भने त यसमा उनीहरूको कुनै विरोध पनि छैन ।
जस्तै, देशमा जताततै धरहराजस्ता भ्युटावरहरू बनिरहेका छन् । के यसमा राष्ट्रहित लुकेको छैन र ? हुन सक्छ यसमा कुनै नेताले, मन्त्रीले ठेकेदारसँग घुस वा कमिसन खाए होलान् । आवश्यक नभएका पूर्वाधार पनि खडा भए होलान् । तर देशमा देखाउन लायक केही त खडा भए । यसरी नै त नयाँ नयाँ पूर्वाधार खडा हुँदै छन् देशैभरि । खोला नै नभएको ठाऊँमा पुल बनेको पनि देख्नु नै भएकै छ नि । गणतन्त्र देशको आत्मा हो वा होइन, थाहा छैन । तर नेताहरू त अवश्य नै गणतन्त्रका लागि परमात्मा नै हुन् । अन्त्यमा त आत्माले परमात्मासँग मिल्नैपर्छ । आत्माले परमात्मासँग जोडिइरहने प्रयत्न गरिरहन्छ र गरी नै रहोस् । आत्मा अमर छ । तर परमात्मा त्योभन्दा पनि ज्यादा अमर छ । अर्थात् नेताहरू अजर, अमर छन् । नेताहरू अजर, अमर भएपछि गणतन्त्र त यसै अमर हुने नै भयो नि । होइन ?
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।