लोकसभा निर्वाचनमा भाजपालाई धक्का, सरकार बनाउन गठबन्धनकै भर !

Share News

काठमाडौं । भारतमा लगातार तेस्रो पटक सत्तारोहण गर्ने लक्ष्यसहित चुनावमा होमिएको भारतीय जनता पार्टी (भाजपा)लाई सरकार बनाउन गठबन्धनकै भर पर्नुपर्ने देखिएको छ । लोकसभा निर्वाचनको पछिल्लो मतपरिणामले भाजपा एक्लैले बहुमत नपाउने देखिएको हो । 

मंगलवार राति साढे ८:४० बजे (नेपाली समयअनुसार)को मतपरिणाम अनुसार भाजपा १६८ स्थानमा विजयी भएको छ, जबकी उसले ७१ स्थानमा अग्रता बनाएको छ । अग्रता बनाएको सिटमा विजयी हासिल गरे पनि उसले २३९ सिट जित्नेछ । 

यही नतिजा आए भाजपालाई बहुमतका लागि ३३ सिट आवश्यक पर्नेछ । लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ । 

अघिल्लो दुई चुनावमा स्पष्ट बहुमत पाएको भाजपालाई यसपटक धक्का लागेको हो । सन् २०१४ मा २८२ सिट जितेको भाजपाले सन् २०१९ मा ३०३ सिटमा विजयी भएको थियो । यो चुनावमा ४०० भन्दा बढी सिट जित्ने लक्ष्य राखेको भाजपा बहुमत नपुग्दा निराश देखिएको छ ।  

भाजपा नेतृत्वको गठबन्धनले भने बहुमत हासिल गर्ने देखिएको छ । मंगलवार राति ८:४० बजेको मतपरिणाम अनुसार गठबन्धनले  १८३ सिटमा जित हासिल गरिसकेको छ । उसले १०८ सिटमा भने अग्रता लिइरहेको छ । अग्रता लिएको सिटमा जित हासिल गरे गठबन्धनको २९१ सिट पुग्नेछ ।

यस्तोमा भाजपालाई सरकार बनाउन गठबन्धनकै समर्थनले पुग्ने देखिए पनि यसलाई टिकाइराख्न चुनौती देखिन सक्छ । गठबन्धनमा अस्थिर नेता रहेकाले एनडीएलाई बहुमत कायम राखिरहन चुनौती देखिन सक्छ । एनडीएमा अहिले नीतिश कुमार नेतृत्वको दल जेडीयू र चन्द्रबाबु नायडू नेतृत्वको दल टीडीपी सहभागी छन् । यी दुई दलले अहिलेसम्म ६ स्थानमा जित हासिल गरिसकेका छन् भने २२ स्थानमा अग्रता बनाएका छन् । अग्रता बनाएका स्थानमा जित निकाले दुवै दलको लोकसभामा २८ सिट हुनेछ । यस्तोमा एनडीए गठबन्धनमा यी दुई दल निर्णायक देखिनेछन् ।  

उता विपक्षी इन्डियन नेशनल कंग्रेस नेतृत्वको गठबन्धनले भने ११३ सिटमा जित हासिल गरेको छ । उसले १२१ सिटमा अग्रता बनाएको छ । एजेन्सीको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।