सहकारी संस्थाहरूको अनुगमनमा विद्यमान संरचनाले पर्याप्त काम नगर्दा सहकारीहरू समस्याग्रस्त भएको विश्लेषण भइरहँदा यिनको नियमनका लागि सहयोग गर्न गएका नेपाल राष्ट्र बैंकका अधिकारीहरूलाई सहकारी विभागले फिर्ता पठाएको छ । राष्ट्र बैंकका अधिकारीहरू वित्तीय कारोबारको विश्लेषण गर्न सक्ने विज्ञ मानिने हुँदा तिनको सहयोग लिनु परेको सन्दर्भमा अहिले फिर्ता गर्दा विभागको नियतमाथि नै प्रश्न उठेको छ । सहकारीमा देखिएका विकृतिको कारण विभाग दल र केही ठूला सहकारीका सञ्चालकको दबाब र प्रभावमा पर्नु एउटा कारण हो भनेर विश्लेषण भइरहँदा राष्ट्र बैंकका अधिकारीलाई फिर्ता पठाउनु पनि यसैको निरन्तरता त होइन भन्ने आशंका उब्जिएको छ ।
सहकारी संस्थाहरू एकपछि अर्को गर्दै समस्याग्रस्त हुँदै गएका छन् । मुलुकको अर्थतन्त्रको एउटा खम्बा मानिएको सहकारीमा देखिएको समस्याले समग्र अर्थतन्त्रलाई नै प्रभाव पारिरहेको छ र यसले नेपाल राष्ट्र बैंकको नियमनमा पर्ने बैंक र वित्तीय संस्थाहरूलाई समेत असर पार्न थालेको छ । लाखौं बचतकर्ताका अर्बौं रुपैयाँ जोखिममा परेको छ र सहकारीका सञ्चालक भनिएकाहरू कोही बेपत्ता छन्, कोही जेलमा त कोही प्रहरी नियन्त्रणमा । आफ्नो दुस्खले गरेको बचत रकम डुबेपछि बिचल्लीमा परेका सहकारीपीडितहरू बिस्तारै आक्रोशितसमेत हुन थालेका छन् । बुधवार पोखरामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई कालो झन्डा देखाउँदा भएको झडप र गिरफ्तारी यसको उदाहरण हो ।
सरकारले सहकारीको रकम अपचलन गर्नेहरू विरुद्ध अनुसन्धान गरी कारबाही गर्नुपर्ने, बचतकर्ताको बचत फिर्ता गर्न पहल गर्नुपर्ने भए पनि उल्टै सहकारीका सञ्चालकलाई बचाउन लागेको भनी पीडितहरूले आरोप लगाएका छन् । यो साँचो हो भने निकै गम्भीर समस्या हो । सहकारीमा विकृति भित्रिनुको कारण पनि राजनीतिक दलको संरक्षण नै हो भन्ने धेरैको भनाइ छ । सहकारीको मूल्यमान्यताअनुसार नचल्ने, सहकारी विभागले तिनको अनुगमन नगर्ने, बचतकर्ताको रकम आफ्नै रकमसरह जथाभावी लगानी गर्ने गर्दा नै धेरैजसो सहकारी समस्यामा परेका हुन् । सानातिना सहकारीले कतिको कति रकम डुबाए भन्ने त कतै तथ्यांकसमेत पाइँदैन ।
पैसा माया मारेर बस्नेको संख्या पनि हजारौं छ । यस्तोमा सहकारीमा देखिएका समस्याको अध्ययन गर्न विज्ञ टोली आवश्यक हुन्छ । त्यही कुरा सघाउन राष्ट्र बैंकका अधिकारीहरू विभागमा आएका हुन् । तर, विभागले किन उनीहरूलाई फिर्ता पठाएर समस्यालाई पेचिलो बनाउन खोजेको देखिन्छ । सहकारी विभाग र यसका अधिकारीहरूको कमजोरी र मिलोमतो खुल्न आँटेकाले त यसो गरिएको होइन भन्ने प्रश्न अहिले उठेको छ ।
सहकारीमा दोस्रो तहको नियामक आवश्यक देखिएको अहिले होइन । निकै लामो समयदेखि यसको माग हुँदै आएको छ । तर, त्यसको सुनुवाइ भएको छैन । नेपाल राष्ट्र बैंकलाई ठूला सहकारीको अनुगमनको जिम्मा दिनेदेखि सहकारीको पूरै नियमन राष्ट्र बैंकले गर्नुपर्ने विषयमा समेत कुरा चलेकै हो ।
तर, सहकारीको नियमनमा राष्ट्र बैंकलाई अल्झाउनु हुँदैन भन्ने मत पनि उत्तिकै सशक्त छ । सहकारीहरूको अवस्था यति धेरै गन्जागोल छ र तिनको संख्या यति धेरै छ कि तिनको अध्ययन गर्न राष्ट्र बैंकको जनशक्ति नै पुग्दैन । चैत पहिलो साता प्रतिनिधिसभाबाट संशोधन पारित भएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सहकारी ऐन, २०७४ मा बचत तथा ऋणको कारोबार गर्ने सहकारी राष्ट्र बैंकको नियामकीय दायरामा समेटिएका छन् । राष्ट्र बैंक ऐनमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण र सुपरिवेक्षणका लागि राष्ट्र बैंकले निर्देशन र मापदण्ड जारी गर्ने व्यवस्था छ । यस्तै ५० करोडभन्दा बढी शेयरपूँजी वा कारोबार भएको संस्थामा वित्तीय सुशासन तथा जोखिमका आधारमा विभागको अनुरोधमा सहकारीसम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने तथा कानूनविपरीत काम गर्ने सञ्चालक, पदाधिकारी र कर्मचारीलाई राष्ट्र बैंकले कारबाही गर्न पाउने व्यवस्था गरिएको छ ।
सहकारी ऐनमा भने ५० करोडभन्दा बढी शेयरपूँजी वा वार्षिक कारोबार भएको सहकारीको वित्तीय सुशासन तथा जोखिमका आधारमा विभागको अनुरोधमा नियमन, निरीक्षण तथा सुपरिवेक्षण नेपाल राष्ट्र बैंकले समेत गर्ने व्यवस्था गरिएको छ । तर, यसअनुसार राष्ट्र बैंकले काम गरेको छैन । त्यस्तै विभागले पनि राष्ट्र बैंकसमक्ष सहकारीको अनुगमनका लागि सिफारिश गरेको छैन ।
अर्थतन्त्रको एउटा खम्बा मानिएको र खर्बौं रुपैयाँ कारोबार गर्ने सहकारीहरूलाई सही नियमन नगर्ने र गर्न पनि नखोज्ने प्रवृत्तिले समस्या गम्भीर बन्दै जान्छ । त्यसैले कि त अलग्गै नियामक निकाय बनाउनुपर्छ नभए सहकारी विभागले काम गर्नुपर्छ । उसलाई आवश्यक पर्दा राष्ट्र बैंकको सहयोग लिनु पनि पर्छ तर, यसरी कोही पनि जिम्मेवार नहुने अवस्था रहिरहनु हुँदैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।