नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनले महँगी वृद्धिदर (मुद्रास्फीति दर) घटेको देखाएको छ । बजारमा मागमा कमी आएसँगै गैरखाद्य समूहका वस्तुको मूल्य घटेपछि समग्र मूल्य वृद्धिदर घटेको प्रतिवेदनले देखाएको छ । यद्यपि सर्वसाधारणले भने महँगी घटेको होइन, बढेको अनुभव गरेका छन् । साँच्चिकै राष्ट्र बैंकले भनेजस्तै महँगी घटेको हो त ? राष्ट्र बैंकले विभिन्न स्रोतबाट तथ्यांक लिएर महँगी अर्थात् मुद्रास्फीति दरको विश्लेषण गर्छ । उसले संकलन गरेको तथ्यांक शतप्रतिशत सही नै होला भन्न सकिन्न । तर पनि धेरै अन्य सरकारी निकायभन्दा यसको तथ्यांक अधिक विश्वसनीय मानिन्छ । किनभने, राष्ट्र बैंक स्वायत्त निकाय हो र मूल्यको अनुसन्धान गर्न यो जति क्षमता भएको अन्य निकाय छैन । राष्ट्र बैंकको तथ्यांक र सर्वसाधारणको अनुभूतिमा फरक पर्नुमा विभिन्न कारण हुन सक्छन् । त्यसैले महँगीको मापन कसरी गरिन्छ भनेर हेर्नु आवश्यक हुन्छ ।
नेपालमा उपभोक्ता मूल्य सूचकांक गणना गर्न पाँचौं बजेट सर्वेक्षणको आधारमा पहिचान गरिएका ४९६ ओटा वस्तु तथा सेवाहरू समावेश गरी वस्तु तथा सेवाको डालो (सीपीआई बास्केट) निर्धारण गरेको छ । मूल्य सूचकांकका लागि उसले देशभरिका ६० ओटा बजार केन्द्रबाट यी वस्तु तथा सेवाको साप्ताहिक, मासिक र त्रैमासिक रूपमा मूल्य संकलन गर्छ र त्यसको उपभोक्ता मूल्य सूचकांक तयार गर्छ । यसरी प्राप्त उपभोक्ता मूल्य सूचकांकमा आएको वार्षिक बिन्दुगत परिवर्तनको दर नै मुद्रास्फीति हो । आर्थिक वर्ष २०७१–७२ लाई आधार वर्षको रूपमा मानी ती वस्तु तथा सेवाको नियमित मूल्य संकलन गरी उपभोक्ता मूल्य सूचकांक तयार गरिन्छ ।
वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६ दशमलव २७ प्रतिशत रहेको छ । गैरखाद्य तथा सेवासमूहको भने मूल्यवृद्धि २ दशमलव ९६ प्रतिशत रहेको छ । खाद्य समूहको मूल्यवृद्धि स्तर समग्रमा भन्दा बढी भएकाले सर्वसाधारणले मूल्य घटेको अनुभव नगरेका हुन् ।
त्यसमा पनि छानिएका वस्तु तथा सेवालाई खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवासमूह गरी दुई समूहमा विभाजन गर्ने गरिएको छ । खाद्य तथा पेय पदार्थको भारांक ४३ दशमलव ९१ प्रतिशत दिइएको छ । यसअन्तर्गत १३ उपसमूहहरू छन् । यसै गरी, गैरखाद्य तथा सेवा समूहको भारांक ५६.०९ प्रतिशत रहेको छ र यसअन्तर्गत नौ उपसमूह रहेका छन् । वैशाखसम्मको तथ्यांकलाई हेर्दा सर्वसाधारणलाई महँगी बढेको अनुभव हुनुका कारण खाद्यमा मूल्य वृद्धिदर उच्च रहिरहनु नै हो । चालू आव २०८०/८१ को वैशाखमा उपभोक्ता मूल्य वृद्धिदर ४ दशमलव ४० प्रतिशत कायम भएको छ । यो ३१ महीनापछिको न्यून मूल्य वृद्धिदर हो ।
तर, वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६ दशमलव २७ प्रतिशत रहेको छ । खाद्य र पेय पदार्थ समूहमा तरकारी, गेडागुडी, मरमसला, चिनीको मूल्य सूचकांक बढे पनि घिउ तथा तेल उपसमूहको सूचकांक घटेको छ । गैरखाद्य तथा सेवासमूहको भने मूल्यवृद्धि २ दशमलव ९६ प्रतिशत रहेको छ । त्यसमा पनि सञ्चार उपसमूहको मूल्यवृद्धि ऋणात्मक रहेको छ । खाद्य समूहको मूल्यवृद्धि स्तर समग्रमा भन्दा बढी भएकाले सर्वसाधारणले मूल्य घटेको अनुभव नगरेका हुन् ।चालू आवको साउनमा ८ दशमलव १९ प्रतिशत पुगेको महँगीदर त्यसपछि भने क्रमश: घटिरहेको हो । समग्र अर्थतन्त्र नै सुस्त भएकाले बजारमा वस्तु तथा सेवाको माग घटेको छ । माग घटेपछि तिनको मूल्य पनि घट्नु सामान्य हो । उत्पादन बढ्न सकेको भए त्यसले मुद्रास्फीतिमा केही अन्तर ल्याउन सक्थ्यो तर आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा उद्योगहरूले आफ्नो उत्पादनसमेत कटौती गरिरहेका छन् । राष्ट्र बैंकको प्रतिवेदनले मुलुकको बाह्य पक्ष राम्रो रहेको देखाए पनि स्रोतको सही र पर्याप्त परिचालन हुन नसकेको देखिन्छ । यस्तोमा अर्थतन्त्र अझै सुस्ताउने सम्भावना बढी हुन्छ । सरकारले विभिन्न सुधारका कार्यक्रम ल्याएर र पूँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गति दिन आवश्यक छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।