काठमाडौं। अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमा भन्दा आगामी वर्षको बजेटमा ठूलो रकम विविध शीर्षकमा राखेको छ । आगामी वर्षका लागि ‘अर्थ विविध’ शीर्षकमा राखिएको करीब ७६ अर्ब रुपैयाँ बजेट भूकम्पपछिको पुनर्निर्माणदेखि विदेशबाट आउने पाहुनाको स्वागत–सत्कारमा खर्च हुनेछ । चालू आवमा अर्थ विविध शीर्षकमा ५७ अर्ब ३६ करोड ९० लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान छ ।
यसरी ठूलो रकम निश्चित परियोजनामा बाँडफाँट नगरी बजेट विनियोजन गर्दा सरकारलाई मनपरी खर्च गर्ने बाटो खुल्छ । आर्थिक अनुशासनका दृष्टिले यसलाई राम्रो व्यवहार मानिँदैन । महालेखा नियन्त्रकको कार्यालयले जारी गरेको एकीकृत आर्थिक संकेत तथा वर्गीकरण २०७४ अनुसार अर्थ विविधबाट नयाँ योजना बनाएर बजेट विनियोजन गर्न मिल्दैन । रातो किताबमा परेका र पुराना योजना कार्यान्वयन गर्ने सिलसिलामा बजेट अपुग भए अर्थ विविधबाट थप्न मिल्छ ।
मन्त्रालयका अनुसार आगामी आव २०८१/८२ मा अर्थ विविधमा ७५ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटबाट विशिष्ट व्यक्तिको भ्रमणमा १० करोड रुपैयाँ खर्च हुनेछ । प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्चमा १५ करोड रुपैयाँ खर्च हुनेछ ।
विभिन्न विकास निर्माणका काम अघि बढाउन सरकारले अधिग्रहण गर्ने जग्गाको मुआब्जा वितरण गर्न पनि सोही शीर्षकबाट ५ अर्ब ९३ करोड ८३ लाख रुपैयाँ छुट्ट्याइएको छ । गरीब दु:खीदेखि विपद्मा परेकालाई सहयोग गर्न पनि सोही शीर्षकबाट आर्थिक सहायताअन्तर्गत १० करोड रुपैयाँ खर्च गर्ने तयारी छ । त्यस्तै सरकारले भन्सार फिर्ता गर्न ३० करोड, भवन खरीद, निर्माण र सुधारका लागि ३० करोड, भौतिक सुविधा उपलब्ध गराउन ५ अर्ब ३० करोड, विभिन्न महशुल तथा अन्य भुक्तानी गर्न ६२ करोड रुपैयाँ खर्च गर्न अर्थ विविध शीर्षकमा बजेट राखेको अर्थ मन्त्रालयको बजेट महाशाखाका एक उच्च अधिकारीले बताए ।
भैपरी आउने खर्चमा २५ अर्ब ९८ करोड, विपद्, राहत तथा पुन:स्थापना गर्न १९ अर्ब ८ करोड र भैपरी आउने (विकास कार्यक्रम) कामका लागि ८ अर्ब ३ करोड रुपैयाँ विविध शीर्षकमा राखिएको छ । संघीय संरचना पूर्वाधार विकास कार्यक्रमको ३ अर्ब रुपैयाँ पनि विविधमै राखिएको छ ।
पछिल्लो समय अधुरा आयोजना कार्यान्वयन गर्न बजेट नै नभएको गुनासो सम्बोधन गर्न पनि विविधमा ४ अर्ब १५ करोड रुपैयाँ राखिएको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार निजीक्षेत्रको प्रस्तावअनुसार सरकारले गण्डकी आर्थिक त्रिभुज परियोजना बजेटमा राखेको छ । यसका लागि २ अर्ब रुपैयाँ विविध शीर्षकबाटै छुट्ट्याइएको छ । गण्डकी आर्थिक त्रिभुज परियोजनामा राखिएको बजेट कसरी खर्च गर्ने भन्नेबारे स्पष्ट मापदण्ड बनाइँदै छ ।
अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले सरकारले भूकम्प पुनर्निर्माणदेखि गण्डकी आर्थिक त्रिभुज परियोजनाको बजेटसमेत अर्थ विविधमै राखेकाले यो शीर्षकमा रकम धेरै देखिएको बताए । उनका अनुसार अर्थ विविधबाटै विशिष्ट व्यक्तिको भ्रमण खर्च हुनेछ । मन्त्रिपरिषद्बाट घोषणा हुने विभिन्न प्रकारका आर्थिक सहायतासमेत यसै शीर्षकबाट प्रदान गरिनेछ ।
अर्थ मन्त्रालयले अहिलेसम्म विविध शीर्षकमा करीब ३१ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । आगामी वर्षको बजेटमा विविध शीर्षकको बजेट बढाएर ७६ अर्ब रुपैयाँ पुर्याइएपछि यो रकम दुरुपयोग हुने कतिपयले आकलन गरेका छन् । पूर्वमुख्यसचिव विमल कोइराला अर्थ विविध शीर्षकमा रकम धेरै देखिनु आर्थिक अनुशासनका हिसाबले राम्रो नठानिने बताउँछन् । ‘विविध शीर्षकको बजेटमा अर्थ मन्त्रालयको तजबिज हुने भएकाले दुरुपयोग हुन सक्छ । यस्तो शीर्षकको बजेट खर्च गर्ने स्पष्ट क्षेत्रहरू बनाएर सही रूपमा परिचालन हुन जरुरी छ,’ उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।