कोशी प्रदेशको बजेट लगातार घट्दै

Share News

विराटनगर । आन्तरिक आम्दानी र केन्द्रीय अनुदान घटेसँगै कोशी प्रदेश सरकारको बजेट प्रत्येक आर्थिक वर्षमा साँघुरिँदै आएको छ । आर्थिक वर्ष (आव) २०७६/७७ मा प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । यो प्रदेश सरकारको पहिलो बजेट दियो । 

त्यसपछि बजेटको आकार लगातार खुम्चँदै चालू आवसम्म आइपुग्दा ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ । आव २०८१/८२ का लागि ३५ अर्ब रुपैयाँ हाराहारीको बजेट आउन लागेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ । 

असार १ गते कोशी प्रदेश सरकारले सदनमा बजेट पेश गर्दै छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले बजेट निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिए । संघीय सरकारको बजेट आएपछि प्रदेश सरकारले पनि बजेटको तयारी गरिरहेको जानकारी दिँदै उनले थपे, ‘बजेटका स्रोतको अनुमान पनि आइसकेकाले अब लाइन मन्त्रालयबाट बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) मा योजनाहरू समाविष्ट गर्ने काम शुरू हुन्छ ।’

आगामी आवको बजेट अघिल्ला २ वर्षको भन्दा सानो हुने देखिएको अर्थ मन्त्रालय स्रोतले बतायो । आगामी आवका लागि चालू वर्षको भन्दा झन्डै १ अर्ब ७४ करोड रुपैयाँ कमको बजेट आउने ती अधिकारीको भनाइ छ । चालू आवका लागि ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट आएको थियो । आगामी वर्षको बजेट ३५ अर्ब रुपैयाँ हाराहारीको हुने स्रोतले जानकारी दिएको छ । प्रत्येक वर्ष बजेट खुम्चँदै जानुमा संघीय अनुदान र आन्तरिक आम्दानीमा कमी आउनु मुख्य कारण रहेको स्रोतले बतायो । 

पहिलोपटक आर्थिक वर्ष २०७६/७७ का लागि ४२ अर्बको बजेट ल्याएको प्रदेश सरकार आगामी वर्षका लागि ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारीमा

आव २०८१/८२ मा संघीय सरकारको राजस्व बाँडफाँटबाट कोशी प्रदेशले १४ अर्ब ५४ करोड २६ लाख रुपैयाँ पाउनेछ । वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ, विशेष अनुदान ७८ करोड १ लाख रुपैयाँ र समपूरक अनुदान ६५ करोड ५० लाख रुपैयाँसहित प्रदेशले संघीय सरकारबाट २९ अर्ब १० करोड ५२ लाख रुपैयाँ पाउनेछ । चालू आवमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ संकलन भएकोमा आगामी वर्ष पनि यत्ति नै राजस्व उठेमा बजेटको आकार ३३ अर्ब ६८ करोड रुपैयाँ पुग्नेछ । यो वर्ष पनि राजस्व लक्ष्यअनुसार उठेको छैन । 

प्रदेशको सञ्चित कोषको रकम र केही घाटाको बजेट निर्माण भएमा आगामी वर्षको बजेटको आकार ३५ अर्ब रुपैयाँ हाराहारीको हुने देखिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । तर, सरकारले नयाँ आयोजनामा बजेट राख्न चाहेमा बजेटको आकार केही बढ्ने देखिन्छ । 

प्रदेश सरकारले हालसम्म ल्याएको सबैभन्दा ठूलो बजेट भनेकै आव २०७६/७७ मा हो । उक्त आवमा सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । खर्च भने २९ अर्ब ८३ करोड ३२ लाख मात्रै भएको थियो । 

यस्तै आव २०७७/७८ मा प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाखको बजेट ल्याउँदा यथार्थ खर्च २७ अर्ब ९५ करोड १२ लाख र २०७८/७९ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याउँदा यथार्थ खर्च २९ अर्ब ९६ करोड ६४ लाख रुपैयाँ मात्रै थियो । 

गत आवमा प्रदेश सरकारले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट ल्याए पनि खर्च भने ३० अर्ब ७५ करोड ७७ लाख मात्रै भयो । चालू आवका लागि प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । यसको पनि यथार्थ खर्च ३० अर्ब रुपैयाँभन्दा माथि नजाने प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।

कोशी सरकारले चालू आवमा चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।