काठमाडौं । पशुपतिनाथ मन्दिरका चारओटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारओटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारओटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन ओटा ढोका खोलिने गरिएकामा आजदेखि चारओटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।” चारओटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार ओटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।