काठमाडौं। उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मुलुकमा राजनीतिक स्थायित्व नहुँदा निर्माण उद्योग लगायतका अन्य उद्योगमा समस्या देखिएको बताएका छन् ।
नेपाली युवा निर्माण व्यवसायीको छाता संस्था ‘युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्स (वाइसीएनसी)’को दशौं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री महासेठले सबै उद्योगको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएको बताए । निर्माण व्यवसायीको भुक्तानी रोकिएको स्वीकार गर्दै उपप्रधानमन्त्री महासेठले असार मसान्तसम्म रकम भुक्तानी गरिने प्रतिबद्धता व्यक्त गरे ।
निर्माण उद्योगको विकासका लागि समयानुकूल ऐन, कानून परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याउँदै उपप्रधानमन्त्री महासेठले अब निर्माणसम्बन्धी ऐन, कानून संशोधन गर्दा निर्माण व्यवसायीलाई अनिवार्य संलग्न गराइने बताए । पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले ‘सिस्टम’मा बसेर मुलुकमा केही गर्न सक्ने अवस्था नरहेको भन्दै निर्माण उद्योगसहित सबै क्षेत्रमा उस्तै विकराल समस्या रहेको बताए ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आर्थिक वर्ष २०८१/८२ को बजेटले निर्माण उद्योगको समस्या समाधान गर्न नसक्ने टिप्पणी गरे । निर्माण उद्योग चलायमान नभएकाले आर्थिक समस्या चुलिएको उनको भनाइ थियो । सो अवसरमा निर्माण उद्योगका विविध समस्याका बारेमा अन्तरक्रिया समेत गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।