दुधको भुक्तानी गर्ने कुरामा संवेदनशील छौं- नेपाल डेरी एसोसिएशन

Share News

काठमाडौं । किसानलाई दुधको भुक्तानी गर्नुपर्ने कुरामा संवेदनशील रहेको नेपाल डेरी एसोसिएशनले बताएको छ । एसोसिएशले राख्दै आएको मागहरूमा राज्य गम्भिर नहुँदा संवेदनशीलता बुझ्दा बुझ्दै पनि असहज परिस्थितिका कारण हालको अवस्थामा आएको एसोसिएशनले बताएको छ ।

एसोसिएशनले बजेटमा दूग्ध पदार्थमा ५० प्रतिशत  भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता,  बिजुलीमा ५० प्रतिशत छुट लगायतका माग रख्दै आएको छ । उक्त माग सम्बोधन नहुँदा उत्पादन लागत घटाउन र उपभोग बढाउन नसकेको कारण हालको अवस्था आएको उसको भनाइ छ । 

'कृषकहरूको दुध उत्पादन गरी भुक्तानी गर्नुपर्ने कुराको संवेदनशीलता हामीले बुझ्दा बुझ्दै पनि असहज परिस्थितिका कारण हालको अवस्थामा छौं । आ.ब. २०८१ / ८२ को बजेटमा नेपाल डेरी एसोसिएसनले दूग्ध पदार्थमा ५० प्रतिशत  भ्याट रिबेट, प्याकेजिङ र स्पेयर पार्ट्समा एक प्रतिशत भन्सार दर, कृषि कर्जाको निरन्तरता,  बिजुलीमा ५० प्रतिशत छुट लगायतका कुराहरुको माग राखेकोमा केहि पनि सम्बोधन नभएकाले उत्पादन लागत घटाउन नसक्दा उपभोग बढाउन सकिएन,' एक विज्ञप्ती जारी गर्दै एसोसिएशनले भनेको छ ।

कृषकको मर्मलाई आत्मसाथ गर्दै एसोसिएसनका सदस्यहरुले भुक्तानीलाई निरन्तरता दिइरहेको दाबी एसोसिएशनले गरको छ । विगतमा करिव ७ अर्ब रकमको भुक्तानी र हाल बाँकी करिव ४ अर्ब  भुक्तानीको रकमले त्यसको पुष्टि हुने एसोसिएशनको दाबी छ । एसोसिएसनका सदस्यहरुले चैत्र मसान्तसम्मको भुक्तानी लगभग सबैले गरिसकेका र २/४ जना बाँकी रहेका सदस्यहरुको पनि चाडैं भुक्तानी हुने प्रतिबद्धता जनाएको बताएको छ । 
एसोसिएशनले पनि कोहि कसैको भुक्तानी गर्न बाँकी भए किसानको मर्म र भावना बुझी यथासक्य चाँडो भुक्तानी गर्न निर्देशन गरिसकेको जनाएको छ । 

आउने दिनको भुक्तानीहरूमा अहिलेको असहजता बुझी सरकारको पनि सहयोग गरि भुक्तानीलाई निरन्तरता दिन सबैको प्रयत्न रहिरहने विश्वास एसोसिएशनले लिएको छ । किसानहरु यसरी सडकमा आउँदा परेको अफ्ट्यारोमा दु:ख व्यक्त गर्दै यस्तो अवस्था आउन नदिन एसोसिएसन हर प्रयासमा लाग्ने प्रतिबद्धता समेत जनाएको छ । 
'आशा छ नेपाल डेरी एसोसिएसनका सदस्यहरुले जसरी संवेदनशील भई किसानको भुक्तानीमा लागेका छन्, त्यसरी नै सरकार र अन्य सबै सरोकारवालाहरुले पनि संवेदनशील भई किसानको भुक्तानीमा साथ दिई दुग्ध किसानहरुलाई पूर्ण साथ दिई आगामी दिनमा यसरी सडकमा आउन नपर्ने गरि सबै समस्या हल गर्न पनि अनुरोध गरिन्छ,' विज्ञप्तीमा भनिएको छ ।

आम किसान बाँकी भुक्तानी चुक्ता गर्न भएको कठिनतालाई बुझी हालको स्टकलाई धितो मानी सरल कर्जा उपलब्ध गराउने र दुग्ध पदार्थ निर्यातका लागि अनुदान उपलब्ध गराए अझ सहज रुपमा चाँडोभन्दा चाँडो भुक्तानी हुने एसोसिएशनको भनाइ छ । 

कृषि तथा पशुपन्छी क्षेत्रले नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुर्याउँदै आएको छ ।  यसमा पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ। यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६ करोडभन्दा बढी नगद शहरबाट गाउँसम्म प्रवाह, २ अर्ब भन्दा बढी राजस्व संकलन, पूर्ण पौष्टिक आहारको पूर्णता लगायत धेरै योगदान सहितको भूमिका दुग्ध क्षेत्रले खेल्दै आएको एसोसिएशनले बताउँदै आएको छ । 

भूकम्प, नाकाबन्दी, कोभिड जस्ता विपत्ति आउँदा पनि उद्योग र दुग्ध  कृषकको सम्बन्धमा कहिल्यै पनि यस्तो असहज परिस्थिति नआएको तर कोभिड पश्चात संसारभरि आर्थिक मन्दी बढ्दा नेपाल पनि त्यसबाट अछुतो रहन सकेको छैन । बजारको माग घट्दै जाँदा दूध तथा दुग्ध पदार्थको उपभोगमा कमी आउन थाल्यो। जसले गर्दा कृषकले उत्पादन गरेको दुध र उपभोगको अन्तर बढ्दै जाँदा उद्योगसँग रहेको धुलो दुध र बटरको मौजदात बढ्दै गएकाले हालको परिस्थिति निकै दयनीय भएको एसोसिएशनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।