काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार वनाउने सहमति भएको भोलिपल्ट मंगलवार शेयर बजारमा उछाल आयो ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव शून्य ४ प्रतिशतले वढ्यो । परिसूचकमा भएको वृद्धिसँगै नेप्सेले दुईपटक सर्किट ब्रेकर लगाउनुप¥यो ।
पहिलो एक घण्टाभित्र वा १२ बजेभित्र चार प्रतिशत वा सोभन्दा बढीले नेप्से सूचकांक घटबढ भएमा २० मिनेट कारोवार वन्द गरिन्छ । १ बजेभन्दा अगाडि ५ प्रतिशत वा त्योभन्दा बढीले परिसूचक घटबढ भएमा ४० मिनेट कारोवार बन्द गर्नुपर्ने नियम छ । ६ प्रतिशत वा सोभन्दा बढीले सूचक घटबढ भएमा शेयर कारोबार दिनभर बन्द गरिन्छ । यसरी गरिने कारोवार बन्दलाई ‘सर्किट ब्रेकर’ भनिन्छ ।
प्रि–ओपन सेसनमै नेप्से ३२ दशमलव ४४ अंक बढेको थियो । त्यसपछि नियमित सेसनमा ११ बजे खुलेको बजार २ मिनेट नपुग्दै ४ प्रतिशत बढेर २० मिनेटको लागि कारोबार बन्द भयो । त्यसपछि ११ बजेर २१ मिनेटमा फेरि खुलेको बजार ५ प्रतिशत बढेर २ हजार १५६ दशमलव ०७ विन्दुमा पुग्यो । त्यसपछि ४० मिनेटसम्म कारोवार बन्द भयो । त्यसपछि खुलेको बजार अन्त्यमा नेप्से २ दशमलव २९ प्रतिशत बढेर २ हजार १ सय दशमलव ४३ विन्दुमा पुगेको छ ।
सोमवार नै सरकार परिवर्तन हुने हल्ला भएसँगै शेयरको दोस्रो बजार केही सकारात्मक भएको थियो । सोमवार नेप्से परिसूचक १६ दशमलव २९ अंक बढेको थियो ।
शेयर बजारलाई स–साना कुराले सकारात्मक र नकरात्मक प्रभाव पार्ने गर्दछ । अझै राजनीतिक प्रभाव धेरै नै देखिने गर्दछ । गत वर्षको फागुन २१ गते पनि कांग्रेससँग मिलेर एमाले सरकारमा सहभागी हुने हल्लाले शेयर बजार तीन पटक ‘सर्किट ब्रेक’ लागेर बन्द भएको थियो ।
नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने अपेक्षामा बजार बढेको लगानीकर्ता राधा पोखरेल बताउँछिन् ।
दुईओटा सबैभन्दा ठूला दलहरूले नै संयुक्त सरकार बनाउने हुनाले राजनीतिक स्थायित्व हुनसक्ने लगानीकर्ता बताउँछन् । २०७९ सालमा संसदको चुनाव भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालकै नेतृत्वमा तीनओटा सरकार बनिसकेको छ भने ओलीको नेतृत्वमा बन्दा डेढ वर्षमै चौथो सरकार बन्ने छ ।
अर्का लगानीकर्ता नवराज दाहाल पनि कांग्रेस–एमालेको सरकार बन्ने समाचारको असर शेयर बजारमा देखिएको वताउँछन् । ‘लामो समयदेखि शेयर बजार माथि उठ्न नसक्दा लगानीकर्ताहरू धेरै नै आत्तिएका छन्,’ उनले भने, ‘ठूला दलहरूको सरकार बन्ने कुरालाई लगानीकर्ताहरूले सकारात्मक ठानेकोले बजार बढेको हो ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।