सातै प्रदेशका एक–एक महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड, कुन प्रदेशबाट कसले पाए ?

तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२४ अन्तर्गत सातओटै प्रदेशका एक–एक जना महिला उद्यमीलाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ अवार्ड प्रदान गरिएको छ । 

न्यू बिजनेश एज प्रालिको आयोजनामा काठमाडौंमा भइरहेको कार्यक्रममा कोशी प्रदेशबाट ताप्लेजुङस्थित चन्दन फाइबर उद्योगकी माया गुरुङलाई उक्त अवार्ड दिइएको छ । उनी २०६८ सालदेखि विभिन्न प्राकृतिक रेशाहरूबाट सामान बनाउँदै आएकी छन् । 

यस्तै, मधेशबाट उक्त अवार्ड पाउनेमा धनुषास्थित सुनैना आर्टस्की सुनैना ठाकुर छिन् । उनी मिथिला कलाका वस्तुहरूको वाल पेन्टिङ र कपडा पेन्टिङ गर्दै आएकी छन् । साथै उनले २०७४ सालदेखि यससम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेकी छन् । 

बाग्मतीबाट काठमाडौंस्थित बेल्ला कासाकी सपना सापकोटाले उक्त अवार्ड पाएकी छन् । उनी इन्टेरियर डिडाइनिङ, फर्निसिङ र डेकोरेशनमा सक्रिय छिन् । 

यसैगरी, गण्डकीबाट कास्कीस्थित कर्णाली गार्मेन्ट उद्योगीकी गीता नाथलाई उक्त अवार्ड दिइएको छ । उनी २०७४ सालदेखि तयारी पोशाक उद्योग सञ्चालन गर्दै आएकी छन् ।   

लुम्बिनीबाट बाँकेस्थित बाँके पोल्ट्री फर्मकी गीता कुमारी कोइरी मौर्यले उक्त अवार्ड पाएकी छन् । उनी २०७१ सालदेखि कुखुरापालन गरिरहेकी छन् । 

कर्णालीबाट सुर्खेतस्थित श्रमजीवी मसला उद्योगकी भूमिसरा टोमटा र सुदूरपश्चिमबाट डडेलधुरास्थित ग्रिन माउन्टेन कृषि विकास फर्मकी सावित्री ओझालाई उक्त अवार्ड दिइएको छ । 

टोमटा २०७६ देखि मसला खेती र प्रशोधनमा सक्रिय छन् भने ओझाले २०७० सालदेखि सस, नमकिन उद्योग चलाइरहेकी छन् । 

उनीहरूले जनही ५१ हजार रुपैयाँका दरले पुरस्कार पाएका छन् । 

कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरशीप’सहित ६ विधामा १२ जनालाई अवार्ड दिइँदैछ, जसमा ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’, ‘पायोनियर सोसियल आन्त्रपे्रनर अफ दि इयर’, ‘वुमन इनटेक’ र ‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधामा अवार्ड दिइएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।