दुई दशक देखि लाभांश नदिएका कम्पनीको दोस्रो बजारमा शेयर मूल्यउच्च

Share News

काठमाडौं । निर्जीवन बीमा समूहको सबैभन्दा बढी शेयर मूल्य भएको राष्ट्रिय बीमा कम्पनी हो । यस कम्पनीको शेयर मूल्य बिहीवार दोस्रो बजारमा प्रतिकित्ता रू.१३ हजार ५२ कायम भएको छ । शेयर मूल्य उच्च भएको यस कम्पनीले भने आफ्ना शेयरधनीलाई करीब दुई दशक देखि लाभांश दिएको छैन । 

पछिल्लो समय २०६२/६३ को नाफाबाट शेयरधनीलाई ११४ दशमलव २७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिएको थियो । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको कुल शेयर सख्या २६ लाख ६६ हजार ३६५ कित्ता रहेको छ । जसमध्ये सर्वसाधारण तर्फको ३ लाख २६ हजार ६२९ कित्ता र संस्थापकको २३ लाख ३९ हजार ७३६ कित्ता रहेको छ । यस कम्पनीको शेयर सख्या कम भएकाले आपूर्ति कम हुने हुनाले शेयर मूल्य बढेको जानकारहरू बताउँछन् । 

त्यस्तै गोर्खाज फाइनान्सले आर्थिक वर्ष २०७१/७२ को नाफाबाट ७ प्रतिशत बोनस शेयर दिएको थियो । त्यसयता यस कम्पनीले कुनै पनि लाभांश दिएको छैन । बिहीवार धितोपत्रको बजारमा यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.७१० दशमलव ५० रहेको छ । नेप्सेमा यस कम्पनीको कुल ८६ लाख ७९ हजार ९३७ कित्ता शेयर सूचीकृत रहेको छ । जसमध्ये ३४ लाख ७१ हजार ९७४ कित्ता सर्वसाधारणको र ५२ लाख ७ हजार ९६३ कित्ता शेयर संस्थापकको रहेको छ । यस कम्पनीको शेयर मूल्य बढ्नुमा पनि शेयर सख्या कम भएको कारण हो । बोनस नदिएपछि पूँजी थपिदैन । यस कारण पनि शेयर मूल्य उच्च रहेको देखियो । 

बोनस शेयरले कम्पनीको चुक्ता पूँजी बढाउने, नेटवर्थ तथा सञ्चिति घटाउने र शेयरधनीको कित्तामा परिमाणात्मक वृद्धि दिनेबाहेक गुणात्मकरूपमा केही पनि नदिने धितोपत्र विज्ञ बताउँछन् । बोनस शेयर जारी हुने सूचनाले केही दिन शेयरको मूल्य अस्वाभाविक बढ्ने, पूँजीको कारण आम्दानी सोही अनुपातमा कायम राख्न सञ्चालन र स्रोत परिचालन खर्च बढ्नेबाहेक गुणात्मकरूपमा प्रतिफल केही नपाइने उनीहरूको भनाई छ । 

विदेशी मुलकमा भने सूचीकृत कम्पनीहरूले बोनस शेयर वितरण गर्नुलाई राम्रो मानिँदैन । बोनस शेयर वितरण गर्दा कम्पनीको दायित्व बढ्दै जाने गर्दछ भने कम्पनीको चुक्ता पूँजीसमेत बढेर जान्छ । नेपालमा भने ठिक उल्टो रहेको छ । लगानीकर्ताले बढी बोनस दिने कम्पनीहरू छानेको पाइन्छ । 

सोही कारण पनि कुनै पनि कम्पनीले आकर्षक लाभांश प्रस्ताव गर्दा शेयर मूल्य बढ्ने गरेको पाइन्छ । नेपालमा वर्षैपिच्छे सूचीकृत कम्पनीहरूले बोनस शेयर वितरण गरिरहँदा पनि लाभांश क्षमता बढेको देखिन्छ । यसो त पछिल्लो केही वर्षको शेयर बजार ट्रेण्ड हेर्दा लगानीकर्ताले बोनस शेयरलाई भन्दा सर्टटर्म ट्रेड गरेर प्रतिफल लिएको देखिन्छ ।


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।