दियालो बंगला सर्वसाधारणको लागि खुला, पर्यटक बढ्ने विश्वास

Share News

चितवन। पूर्वराजाहरू घुम्न तथा बस्न आउने ऐतिहासिक दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा आइतवार भरतपुरमहानगरपालिका–१ स्थित दियालो बंगला दरबार संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको हो । मन्त्री तामाङले संग्रहालय अध्ययन अनुसन्धानको केन्द्र बन्न सक्ने भन्दै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए । 

तत्कालीन राजा बस्ने यो दरबारमा अनुसन्धानकर्ताका लागि ठूलो अवसर हुने उनको भनाइ छ । नेपाल ट्रस्टकी सदस्य सुनिता गौतमले संग्रहालय खुलेसँगै सर्वसाधारणले पहिलेका शासकको गतिविधि तथा जीवनशैलीबारे जानकारी पाउने बताइन् । 

होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले बंगला खुलेसँगै चितवनको पर्यटनमा नयाँ आयाम थपिएको बताए । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुरका ३० ओटा उत्कृष्ट पर्यटकीय गन्तव्यमध्ये मुख्य सात गन्तव्य भित्र दियालो बंगला संग्राहलय रहेको बताइन् । नेपाल ट्रष्टसँग सम्झौता भएसँगै संग्रहालय वरपर पार्कको अवधारणामा विकास गरिने दाहालको भनाइ थियो । केही दिनको नि:शुल्क र त्यसपछि टिकटको व्यवस्था गरिने प्रमुख दाहालले बताइन् ।

तत्कालीन राजपरिवार बिदा मनाउन दरबार दियालो बंगलामा आउने गर्दथे । बंगलामा राजपरिवारले प्रयोग गरेका सामग्री राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ र राजाको सुरक्षा गार्डका लागि एडीसी क्वाटर छ । त्यस्तै, बंगलामा राजाले प्रयोग गरेका पलङ पनि सुरक्षित नै राखिएका छन् । संग्रहालयमा डाइनिङ हल र भान्साका भाँडाकुँडा, शिकार गर्ने सामग्री, क्याम्प गर्ने संरचना पनि जोगाएर राखिएको छ । 

दरबारको पहिलो तलाको ठूलो बैठक कक्षको भित्तामा पूर्व राजा महेन्द्र र वीरेन्द्रको तस्वीर सजाएर राखिएका छन् । भित्तामा बाघको टाउको जस्ताको तस्तै राखिएको छ । महेन्द्रले शिकार गरी मारेको घडियाल गोही भर्याङमा राखिएको छ । उनको २०२८ माघ १७ मा दियालो बंगलामै निधन भएको थियो । त्यसपछि पूर्वराजा वीरेन्द्र महेन्द्रको वार्षिक तिथि पारेर बंगलामा आउने गर्दथे । यो दरबार नारायणगढ मुग्लिन सडक खण्डअन्तर्गत देवघाट जाने बाटो आँपटारीमा पर्दछ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।