अध्ययनका लागि जापान जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले ऋण दिने, आइएमई र जाल्सान समझदारी

Share News

काडमाडौं। ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान)बीच त्रिपक्षीय समझदारी भएको छ । 

उक्त समझदारीमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गर्ने समझदारी भएको हो । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका लागि आवश्यक शैक्षिक कर्जा प्रवाह गर्नेछ । बैंकले प्रदान गर्ने उक्त शैक्षिक कर्जाले जापान जान इच्छुक विद्यार्थीलाई वित्तीय व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपश्चात् बैंकले शैक्षिक कर्जा प्रवाह गर्ने बताइएको छ । यसैगरी, आइएमईले विद्यार्थीको कलेज शुल्क, भिषा शुल्क लगायतका भुक्तानीका लागि बैंक तथा जाल्सानसँगको समन्वयमा सहजता प्रदान गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।