काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ दशलमव ३१ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार २०४ दशमलव ६१ विन्दुमा पुगेको हो ।
करीब एक वर्षपछि नेप्से परिसूचक २२ सय विन्दुमाथि गएको हो । यसभन्दा अगाडि २०८० साउन ८ गते नेप्से परिसूचक २ हजार २ सय दशमलव ५० विन्दुमा बन्द भएको थियो । त्यसपछि इन्ट्राडेमा २२ सय विन्दु पुगे पनि सो विन्दुमाथि बन्द भएको थिएन ।
समग्रमा हेर्दा लगानीकर्ता बजारप्रति सकारात्मक भएको देखिन्छ । कारोबार रकम पनि बढेको छ । यसबाट नयाँ लगानीकर्ता थपिएको पनि अनुमान लगाउन सकिन्छ ।
खासगरी नेपाल कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यको सहमति भएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । नयाँ सरकार गठनपछि राजनीतिक स्थायित्व, आर्थिक सुधारसँगै पूँजी बजारमा पनि नीतिगत सुधार हुने लगानीकर्ताको अपेक्षा छ ।
त्यस्तै राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति तय गर्ने अनुमान भइरहेका छन् । विशेषगरी नीतिगत गाँठा फुकाउने र कर्जा प्रवाह बढाउने गरी मौद्रिक नीति आउने विश्लेषण भइरहेका छन् । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ५३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ६२ प्रतिशत वृद्धि भएको छ ।
३३१ धितोपत्रको २ करोड २ लाख ३७ हजार ७८० कित्ता शेयर ८७ हजार ८६ पटकमा रू. ७ अर्बभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये बलेफी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ९ दशलमव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२१ दशमलव ५० पुगेको हो । त्यस्तै सिटिजन सुपर ३० म्युचुअल फण्डको इकाई मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ९ दशमलव ७१ पुगेको छ ।
बिहीवार समाज लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ४ दशलमव ५९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ९३२ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्नेमा दोस्रोमा साधना लघुवित्त छ । कम्पनीको शेयर मूल्य ४ दशमलव ५६ प्रतिशत घटेर रू. १ हजार ६७ कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १५ करोड २५ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १४२ पुगेको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकको रू. १४ करोड ८८ लाख बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ०६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै बैंकिङ्ग समूहको सूचक २ दशमलव ४२ प्रतिशत वृद्धि भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।