कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन

Share News

दोधारा चाँदनी (कञ्चनपुर) । जल तथा मौसम विज्ञान विभागबाट खटिएका मौसमविद्हरूको टोलीले दोधारा चाँदनीमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको स्थलगत अध्ययन गरेको छ । 

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले बिहीवार दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । टोलीले वर्षा मापन केन्द्र र त्यहाँ राखिएका उपकरण ठीक अवस्थामा भए/नभएको जाँच गरेकाबारे दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रको अध्ययन गरेको मौसमविद् डा. कँडेलले जानकारी दिइन् । 

यसका साथै दोधारा चाँदनी नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिएको उनले बताइन् । ‘असार २३ र २४ गतेका दिन २४ घण्टाको अवधिमा ६२४ मिलीमिटर अर्थात् अहिलेसम्मकै सर्वाधिक वर्षा रेकर्ड हुँदा यति धेरै हुनसक्छ र भनेर त्यसमा सरोकारवालाले चासो देखाउनुभयो । त्यसपछि थप अध्ययनका लागि स्थलगत अध्ययनका लागि आएका हौं,’ वरिष्ठ मौसमविद् कँडेलले भनिन् । दोधारास्थित वर्षा मापन केन्द्रका उपकरणको जाँच गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने उनको भनाइ छ । 

टोलीले आज कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गर्ने कार्यक्रम छ । असार २३ र २४ गतेको वर्षाले नेपालमा हालसम्म भएको वर्षाको रेकर्ड तोडेको थियो । दोधारास्थित स्वचालित वर्षा मापन केन्द्रमा २४ घण्टाको अवधिमा रेकर्ड भएको ६२४ मिलीमिटर वर्षा नेपालमा वर्षा मापन थालेयताकै सबैभन्दा धेरै भएको कँडेलले बताइन् । 

असार २३–२४ गतेको २४ घण्टा अवधिमै कञ्चनपुरका हनुमाननगर र सुन्दरपुर स्टेशनमा पनि अति भारी वर्षा रेकर्ड भएको थियो । हनुमाननगरमा पाँच सय ७३ दशमलव छ र सुन्दरपुरमा पाँच सय ५६ दशमलव चार मिलीमिटर वर्षा मापन भएको थियो । उक्त टोलीमा विभागका वरिष्ठ मौसमविद् कँडेलसँगै मौसमविद् शान्ति कँडेल, सुदर्शन हुमागाईं, सञ्जय शाह र दीनानाथ भण्डारी सहभागी छन् । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।