लगातार चार दिन बढेपछि नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ७३ बराबरको कारोबार

Share News

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को अन्तिम कारोबार दिन नेप्से परिसूचक १७ दशलमव १८ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार २४० दशलमव ४१ विन्दुमा कायम भएको हो । लगातार चार कारोबारमा दिनमा १२१ दशमलव २२ अंक बढेपछि सोमवार नेप्से घटेको छ । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै सामान्य करेक्सन भएको लगानीकर्ता बताउँछन् । 

पछिल्लो समय समग्रमा हेर्दा लगानीकर्ता बजारप्रति सकारात्मक भएको देखिन्छ । पछिल्लो समय कारोबार रकम बढ्दो छ । यसबाट नयाँ लगानीकर्ता थपिएको पनि अनुमान लगाउन सकिन्छ ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता सहकार्यका लागि सहमति भएयता शेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो । एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने खबर सार्वजनिक भएसँगै बजार बढेको जानकार बताउँछन् । एमाले नेता पौडेललाई लगानीकर्ताले अर्थमन्त्रीका रूपमा रुचाउने गरेका छन् । 

दुई दलबीच भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त भइसकेका छन् भने अर्थमन्त्रीमा पौडेललाई नै ल्याइएको छ । पौडेल अर्थमन्त्री बनेसँगै बजार बढ्ने लगानीकर्ताको अपेक्षा छ ।    

यसो त लामो समयदेखि ब्याजदर घट्दो छ । त्यस्तै आगामी मौद्रिक नीतिबाट शेयर बजारका नीतिगत अवरोध हटेमा शेयर बजारले नयाँ उचाई चुम्ने लगानीकर्ताको विश्वास छ । 

सोमवार सेन्सेटिभ इन्डेक्स १ दशलमव ०१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव २६ प्रतिशत घटेको छ । ३२२ धितोपत्रको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर १ लाख २ हजार ३७२ पटकमा रू. ८ अर्ब ७३ करोड बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये एक धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिभिल बैंक डिबेञ्चर २०८८ नामक ऋणपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । ऋणपत्रको मूल्य प्रतिकित्ता रू. १ हजार १८५ दशमलव ८० पुगेको छ । त्यस्तै माण्डु हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. १ हजार ४९३ पुगेको छ । 

सोमवार जानकी फाइनान्सको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४२ दशमलव ५० मा झरेको छ । त्यस्तै १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ नामक ऋणपत्रको मूल्य ६ दशमलव ९४ प्रतिशत घटेर रू. १ हजार ५ कायम भएको छ । 

यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावर कम्पनीले अोगटेको छ । यस कम्पनीको रू. ३७ करोड ८ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १७६ दशमलव ७० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रू. २१ करोड ९८ लाख बराबरको कारोबार भएको हो । 

यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये लगानी समूहको सूचक सबैभन्दा बढी १ दशलमव ७० प्रतिशत वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी १ दशमलव ८९ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।