काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ दशमलव ५२ प्रतिशत बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार ४२४ दशमलव ३२ विन्दुमा पुगेको हो । नेप्से परिसूचक २७ महिना यताकै उच्च विन्दुमा आइपुगेको छ । यसअघि २०७८ चैत २४ गते नेप्से २ हजार ४६४ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।
आज विशेषगरी वाणिज्य बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । ब्याजदर सस्तो भएको र बैंकिङ प्रणालीमा प्रशस्त पैसा भएकाले लगानीकर्ताले कर्जा लिएर पनि शेयर किन्न सक्ने अवस्थामा आइपुगेका छन् । सोही कारण पनि शेयर बजारमा रौनकता थपिएको छ । नेप्से परिसूचकसहित कारोबार रकमले पनि थप उचाईं लिंदै गएको छ । सूचकसँगै कारोबार रकम पनि बढेकाले लगानीकर्ता थप आशावादी भएको देखियो ।
बजार बढ्न थालेपछि बजार खरीदकर्ता–बिक्रेताको संख्या बढेकाले कारोबार रकम सजिलै १५ अर्ब माथि पुगेकोे देखिन्छ । ब्रोकर संख्या पनि थपिएकाले उनीहरुले पनि नयाँ ग्राहक खोजेका छन् । नयाँ सरकार गठन, विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्ति अनि ब्याजदर थप घटेकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । यस दिन सेन्सेटिभ इन्डेक्स ३ दशमलव ९० प्रतिशत,फ्लोट इन्डेक्स २ दशमलव ८८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ ।
३१२ धितोपत्रको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर १ लाख ८४ हजार ७१२ पटकमा रू. १५ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये पाँच धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, नेपाल फाइनान्स,आँखुखोला जलविद्युत कम्पनी,उपकार लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । बिहीवार कुमारी सबल योजनाको इकाई मूल्य सबैभन्दा बढी ५ दशलमव ७६ प्रतिशत घटेको छ । इकाई मूल्य रू. ९ दशमलव ३३ कायम भएको छ । त्यस्तै दोस्रोमा सिन्धु विकास बैंकको शेयर मूल्य ४ दशमलव ५७ प्रतिशत घटेर रू.५०१ मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. ४२ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९९७ दशमलव ८० पुगेको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको रू. ३८ करोड ९१ लाख बराबरको कारोबार भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुई समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी बैंकिङ्ग समूहको सूचक ६ दशलमव २८ प्रतिशत वृद्धि भएको छ भने वित्त समूहको सूचक १ दशमलव २७ प्रतिशत घटेको छ । बैंकिङग समूहको कम्पनीहरुको शेयर मूल्य उच्च दरले वृद्धि भएसँगै यस समूहको सूचक धेरै बढेको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।