नयाँ सरकारका केही असहज दृश्य

Share News

बुधवार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाबारे जानकारी लिएको भनी सामाजिक सञ्जालमा फोटो पोस्ट गरे । त्यसमा उनले लेखेका छन्, ‘मन्त्रालयमा तीनओटै सुरक्षा निकाय नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकसँग भेटघाट गरी देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएको छु ।’ नेपाली कांग्रेसका तर्फबाट सरकारको नेतृत्व लिएर मन्त्रिमण्डलमा सामेल भएको र दोस्रो वरीयताका मन्त्रीको यो पोस्टलाई धेरैले अस्वाभाविक रूपमा लिए । हुन पनि उनको मन्त्रालयसँग असम्बद्ध निकाय र असम्बद्ध विषयमा उनले किन जानकारी लिनुपर्यो ? गृह मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको र रमेश लेखक गृहमन्त्री भएको अवस्थामा उनको पोस्टले विवाद निकाल्नु स्वाभाविक हो । त्यसो त सुरक्षा निकायका व्यक्तिले उपप्रधानमन्त्रीसमेत रहेका शहरी विकास मन्त्रीलाई भेट नै गर्न नहुने भन्ने होइन, भेट गर्न मिल्छ । सम्बद्ध मन्त्रालयसँग समन्वय गरेर शहरी विकास र सुरक्षाबारे जानकारी लिएको भए पनि सहज मान्न सकिन्थ्यो । तर, देशकै पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी भन्नु गम्भीर त्रुटि हो ।

त्यसो त समाचारमा आएअनुसार सुरक्षा निकायका प्रमुखहरूले भेटेर बधाई दिन गएको स्वीकारेका छन् । आफ्नो विभागसँग सरोकार नराख्ने उप्रधानमन्त्री वा मन्त्रीलाई नै यसरी लाइन लागेर सुरक्षा निकायका प्रमुखहरू औपचारिक पोशाकमा भेट्न जानु नै गलत हो, यो पदीय मर्यादा र चेन अफ कमान्डको विपरीत छ । यो शिष्टाचार भेट होइन, चाकडीको नमूना हो भन्न सकिन्छ । मन्त्रिपरिषद्को वरीयतामा दोस्रो तहका मन्त्रीको काम यसरी विवादमा पर्नु राम्रो होइन । 

नेपालका मन्त्रीहरू कूटनीतिक मर्यादा र प्रचलन बिगार्नेमा अगाडि देखिन्छन् । सरकार फेरिएपछि भारतीय राजदूत परराष्ट्र मन्त्रीलाई भेट्न पुगे । अन्य मन्त्रीलाई पनि उनले भेटिरहेका छन् । त्यसको लगत्तै चिनियाँ राजदूत पनि लाइन लागेर मन्त्री भेट्न लागेका छन् । मन्त्री हुनेबित्तिकै राजदूतहरूलाई

भेट्नुपर्ने कारण के ? त्यसमा पनि परराष्ट्रबाट स्वीकृति नलिने, कुराकानीलाई दस्तावेजीकरण नगर्ने जस्ता गलत अभ्यास मन्त्रीहरूले नै भित्त्याएका हुन् । अहिलेको सरकारमात्र होइन, यसअघिका सरकारहरूले पनि यस्तै गरेको पाइन्छ । यो कूटनीतिक मर्यादामा सरकार चुक्नु भनेको मुलुकको कूटनीति कमजोर हुनु हो । राजदूतलाई कोठाचोटा जताततै भेट्दै हिँड्दा नेपालको कूटनीतिक क्षमता नभएको देखाउँछ । त्यतिमात्र होइन, राजदूत भेट्ने अनि यसो गरिदिनुपर्यो उसो गरिदिनुपर्यो भन्ने र त्यसको अभिलेख पनि कतै नराख्ने भनेको ज्यादै नै केटाकेटी पारा हो ।

यतिबेला नयाँ मन्त्रीहरूले धमाधम आआफ्ना मन्त्रालयका फाइल पढिरहेको, विज्ञहरूसँग सल्लाह गरिरहेको हुनुपर्ने हो । तर, खादा र माला थाप्ने, अभिनन्दन र सम्मान ग्रहण गर्नेजस्ता कार्यमा नै उनीहरू रमाइरहेका छन् ।

राजदूत भेट्दा के के न गरेँ भनेजस्तो सोचाइले मुलुकलाई कमजोर मात्रै बनाउँछ । त्यसैले कूटनीतिक क्षेत्रलाई दिने भेटघाटलाई व्यवस्थित गर्न आवश्यक छ । यस्तो गलत प्रवृत्तिलाई रोक्न आचार संहिता पनि बनेको हो तर त्यसको पालना न प्रधानमन्त्री न परराष्ट्रमन्त्री न अन्य मन्त्रीले नै गरेको पाइन्छ । कूटनीतिक मर्यादा कायम नगर्दा नै नेपालको सत्ता परिवर्तनलाई भारत र चीनको चासोसँग जोडेर विश्लेषण गर्ने गरिएको हो । त्यसले आन्तरिक राजनीति केही पनि होइन, बाह्य प्रभाव मुख्य हो भन्ने भाष्य स्थापित भइरहेको छ जुन सार्वभौम मुलुकका लागि निकै दुर्भाग्य हो । 

नयाँ सरकार आएपछि देखिने अर्को असहज दृश्य भनेको बधाई खाने मन्त्रीको रहर र चाकडी गर्न मन्त्री निवास तथा मन्त्रालय पुग्नेहरूको भीड हो । मन्त्री नियुक्त भएपछि बधाई लिनु औपचारिक शिष्टाचार नै मानिन्छ तर मन्त्री नियुक्त भएपछि सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताको भीड लागेको छ । त्यस्तै मन्त्रीका निवासमा पनि अझै बधाई दिनेको भीड घटेको छैन । मुलुकको अर्थतन्त्र संकटमा छ । सरकारी संयन्त्रहरू बेकम्माजस्ता भएका छन् । हरेक क्षेत्रमा अस्तव्यस्तता छ । अस्थिरताका कारण कुनै पनि क्षेत्रमा आशलाग्दो प्रगति भएको छैन । राज्य खर्च धान्न नसक्ने अवस्थामा छ र जनतामाथि करको बोझ थपिएको थपियै छ । यस्तो कठिन अवस्थामा सरकारको नेतृत्व सम्हाल्न गएका दलका नेतालाई समस्याको गम्भीरताप्रति कत्ति पनि चिन्ता देखिएको छैन ।

प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म भेटघाटमा व्यस्त देखिएका छन् । ‘हामी फोटो टाँस्न सरकारमा आएका होइनौं’ भन्ने तिनले बताइरहेका छन् तर कार्यशैली हेर्दा फोटो टाँस्नबाहेक कुनै काम छ जस्तो अनुभूति भएको देखिँदैन । भएको भए धमाधम गृहकार्य गरेर सचिवहरूसँग बैठक बसेर सुुधार र समाधानका उपायको खोजीमा जुट्नुपर्ने हो । मन्त्री हुनु भनेको आफू मातहतको राज्ययन्त्रलाई काममा लगाउनु हो, परिचालन गराउनु हो । तिनलाई परिणाममुखी बनाउन नीति बनाउनु हो । नीतिगत अल्झन भए हटाउनु हो । यसका लागि यतिबेला नयाँ मन्त्रीहरूले धमाधम आआफ्ना मन्त्रालयका फाइल पढिरहेको, विज्ञहरूसँग सल्लाह गरिरहेको हुनुपर्ने हो । तर, खादा र माला थाप्ने, अभिनन्दन र सम्मान ग्रहण गर्नेजस्ता कार्यमा नै उनीहरू रमाइरहेका छन् । यसैलाई सफलता मानिरहेका छन् । कार्यकर्ता र मन्त्रीका चिनजान आफन्तले पनि यसरी भीडभाड गरेर मन्त्रीलाई भाँजो हाल्नुभन्दा कामको लेखाजोखाको कुरा गरेको भए मन्त्रीलाई खबरदारी हुन्थ्यो । तर, नेपालमा राणाकालदेखि चलनमा रहेको चाकडी प्रथा अहिले झनै झाङ्गिएको देखिन्छ ।

नेताहरू क्रान्ति गरेर र त्याग गरेर त्यो पदमा पुगेका हुन् । तर, पदमा पुग्नुभन्दा ठूलो कुरो त्यो पदबाट मुलुक रूपान्तरणमा योगदान दिनु हो । आफन्त र आसेपासेलाई रिझाउनमै अहिलेको सरकार पनि लाग्न थालेको छ । नेतृत्वमा पुग्नेहरू सरकारमा गए पनि राजकाज कसरी चलाउने भनेर नजानेका र जान्न नखोज्ने खालका हुनु नै अहिलेको समस्याको जरो हो । पार्टी चलाउनु र सरकार चलाउनु उस्तै होइन । शासनप्रणाली सही ढंगले चलाउन नसक्दा राष्ट्रवादी र संघर्षशील त्यागी नेताहरू पनि पतनको पराकाष्ठामा पुगेको विश्व उदाहरण छ । नेपालको राजनीतिक नेतृत्वले राजकाज सही ढंगले चलाउन कहिले सिक्ला ? 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।