५ हजारभन्दा बढी लगानीकर्ताले खोले नयाँ टीएमएस खाता

Share News

काठमाडौं । नयाँ सरकार गठनसँगै शेयरबजार उकालो लागेपछि लगानीकर्ता उत्साहित देखिएका छन् । पछिल्लो एक सातामा धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि ५ हजार २०० ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) खाता खोलिएको घटनाले लगानीकर्ता उत्साहित भएको संकेत गरेको हो । 

एक हप्तामा ५ हजार २०० नयाँ टीएमएस खाता खोलिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । टीएमएसले लगानीकर्तालाई ब्रोकर र नेप्सेसँग जोड्छ । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताले अनलाइनबाट शेयर किनबेचको आदेश दिन टीएमएस खाता खोल्नुपर्छ । 

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीका अनुसार असार मसान्तसम्म २२ लाख ५८ हजार ४१० टीएमएस खाता खोलिएकोमा त्यसयता ५ हजार २०० नयाँ खाता थपिएका हुन् । 

हप्ताको शुरूमा नयाँ सरकार बनेपछि शेयरबजारको तथ्यांकीय सूचक (नेप्से) निरन्तर उकालो लागेको बेला नयाँ टीएमएस खाता थपिएका हुन् । बिहीवार पनि नेप्से ५९ दशमलव ६८ अंकले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेको छ ।

पूर्ण प्रविधिमैत्री शेयर कारोबारलाई व्यवस्थित बनाउन नेप्सेले आफ्नै टीएमएस सेवा उपलब्ध गराउँदै आएको छ । नेप्से बढ्न थालेसँगै नयाँ लगानीकर्ताले टीएमएस खाता खोली बजार प्रवेश गरेको पराजुलीको भनाइ छ ।

लगानीकर्ताले ब्रोकर अफिस नगई घरमै बसेर टीएमएस खाताबाट शेयर किनबेच गर्न सक्ने व्यवस्था छ । अनलाइन कारोबार गर्न मिल्ने हुँदा विदेशबाट समेत लगानीकर्ताले सक्रिय रूपमा कारोबार गरिरहेको ब्रोकरहरू बताउँछन् । पछिल्लो समय करीब २ लाख हाराहारी सक्रिय लगानीकर्ताले दोस्रो बजारमा कारोबार गरिरहेको ब्रोकरहरूको अनुमान छ । लगानीकर्ताको रोजाइमा यतिबेला कम मूल्यका शेयर परेको ब्रोकर बताउँछन् । पछिल्लो समय लगानीकर्तामा देखिएको उत्साह हेर्दा बजारले सकारात्मक गति लिने विश्वास गर्न सकिने पनि उनीहरूले बताए । पछिल्लो समय असार १७ गतेदेखि शेयरबजार उकालो यात्रामा छ । २ हजार ३० दशमलव ३८ बिन्दुबाट उकालो लागेको बजार पछिल्लो १४ कारोबारमा दिनमा २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेको छ । असार १६ गते दोस्रो बजारमा करीब ३ अर्ब रुपैयाँ हाराहारी कारोबार भएको थियो । कारोबार रकमसमेत निरन्तर बढेर साउन ३ गते १५ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि पुगेको छ ।

धितोपत्र किनबेचका लागि हालसम्म ६३ लाख १५ हजारभन्दा बढी हितग्राही खाता (डिम्याट ) खोलिएका छन् । डिम्याट र टीएमएस खाताको अवस्था हेर्दा अझै ४० लाखभन्दा धेरै लगानीकर्ता दोस्रो बजारमा प्रवेश गर्न बाँकी छ । तर, एकै व्यक्तिका एकदेखि तीनओटासम्म डिम्याट खाता रहेको अनुमान छ । यस हिसाबले १८ लाख हाराहारी डिम्याट खाता निष्क्रिय अवस्थामा रहेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले जानकारी दिएको छ । 

अग्रज लगानीकर्ता डम्बरुवल्लव घिमिरे लामो समयपछि ओरालो लाग्ने क्रम (बियरिस चक्र) छाडेर बजार उकालो लाग्ने प्रवत्ति (बुल चक्र) मा प्रवेश गरेको अनुमान लगाउँछन् । कारोबार रकमको वृद्धि र लगानीकर्ताको उत्साह हेर्दा बजारको गतिलाई सकारात्मक मान्नुपर्ने उनी बताउँछन् । संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सुविधाजनक बहुमतको सरकार गठन गरेकाले यो सरकार स्थिर हुन सक्ने आश र वित्तीय प्रणालीमा पर्याप्त तरलताका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानीकर्ता उत्साहित भएको घिमिरेले बताए ।

नयाँ आर्थिक वर्ष शुरू भएसँगै नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति र नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम लगानीमैत्री हुने अपेक्षा रहेकोले पनि बजार उकालो लागेको घिमिरेको तर्क छ । 

चार दशकदेखि धितोपत्र बजारमा लगानीकर्ताका रूपमा परिचित घिमिरे बजार बढेपछि मात्र लगानीकर्ता प्रवेश गर्ने परिपाटीले जोखिम हुने औंल्याउछन् । ‘बजार बढ्दा बेच्ने र घट्दा किन्ने गर्दा लगानीकर्तालाई फाइदा हुन्छ,’ उनले भने ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।