काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनको प्रिमियम शुल्क नतिरेको भन्दै लाइन काटिएका उद्योगमा विद्युत् आपूर्तिबारे छलफल गर्न नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठक बसेको छ ।
गत आइतवार विद्युत नियमन आयोगले लाइन काटिएका उद्योगमा तत्काल विद्युत् उपलब्ध गराउन प्राधिकरणलाई पत्राचार गरेपछि सञ्चालक समिति बैठक बसेको हो ।
सोमवार (आज) बसेको बैठकमा लाइन काटिएका उद्योगहरूमा लाइन जोड्नेबारे कुनै निर्णय नभएको एक सदस्यले जानकारी दिए । ‘छलफल भयो । कतिपय कुराहरू मिलाउन बाँकी छ । निर्णय के–कसरी हुन्छ । पोजेटिभ छ,’ ती सदस्यले भने ।
उनले लाइन काटिएका उद्योगहरूमा के–कसरी लाइन जोड्ने भन्ने विषयमा अर्काे बैठकमा छलफल गरिने जानकारी दिए ।
प्राधिकरणले प्रिमियम दरमा महशुल नतिरेको भन्दै रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको बिजुली काटेपछि प्रधानमन्त्रीले गत शुक्रवार ती उद्योगमा लाइन जोड्न निर्देशन दिनुभएको थियो । तर, प्राधिकरण नेतृत्वले लिखित निर्देशन नआएसम्म लाइन नजोड्ने बताएको थियो ।
त्यसपछि सरकारले विद्युत् नियमन आयोगमार्फत लाइन काटिएका उद्योगमा तत्काल विद्युत् उपलब्ध गराउन आइतवार प्राधिकरणलाई पत्राचार गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।