काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक २ दशमलव १५ अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २ हजार ४८८ दशमलव ०९ विन्दुमा पुगेको हो ।
'इन्ट्राडे'मा नेप्से परिसूचक २ हजार ५०४ विन्दुसम्म पुगेको थियो । त्यसपछि विक्रेता हाबी भएर बजार २ हजार ४४१ दशमलव ५६ विन्दुसम्म झरेको थियो । लगातार चार कारोबार दिन उच्च अंकले बजार बढेकोले पनि कारोबारीले प्रोफिट बुक गरेको जानकार बताउँछन् ।
इन्ट्राडेमै नेप्से सूचकले ३ पटक २५ सयको मनोवैज्ञानिक विन्दुलाई परीक्षण गरेको छ । बलियो 'रेजिस्टेन्स' देखिएको यस विन्दुबाट माथि उक्लिएर कारोबार भएमा नेप्सेले नयाँ उचाई लिने लगानीकर्ता बताउँछन् । इन्ट्राडेको करेक्सनबाटै अघि बढेको उनीहरूको भनाइ छ ।
पूँजी बजार सुधारका लागि सरकारले पनि प्रतिबद्धता जनाएको छ । बजार सुधारका लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्मले प्रतिबद्धता जनाएका छन् । यता, नेपाल राष्ट्र बैंकले पनि लचिलो मौद्रिक नीति ल्याउने अनुमान गरिएको छ । अहिले ब्याजदर घटेको छ भने तरलता पनि सहज अवस्थामा छ । यी कारणले लगानीकर्ता उत्साहित बनेको जानकार बताउँछन् ।
सोमवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव १९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४८ प्रतिशत घटेको छ ।
यस दिन ३०९ धितोपत्रको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर १ लाख ७० हजार ५५९ पटकमा रू. १३ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४९४ दशमलव ९० पुगेको छ । त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ८ दशमलव ६७ प्रतिशत बढेर रू. १ हजार १७९ पुगेको छ ।
सोमवार सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ९ दशमलव ९४ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ५५ दशमलव १० मा झरेको छ । त्यस्तै सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ६६ प्रतिशत घटेर रू. ७९९ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३६ करोड ९३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६१ दशमलव २० पुगेको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट छ । कम्पनीको रू. ३४ करोड ७८ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
यस दिन कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । तीमध्ये उत्पादन तथा प्रशोधन समूहको सूचक सबैभन्दा बढी २ दशलमव १६ प्रतिशत वृद्धि भएको छ भने बैकिङ्ग समूहको सूचक सबैभन्दा बढी १ दशलमव २३ प्रतिशत घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।