व्यवसायजन्य सुरक्षामा सरकारको लगानी न्यून

Share News

काठमाडौं। व्यवसायजन्य सुरक्षा र स्वास्थ्य निरीक्षणमा सरकारको लगानी तथा स्रोत न्यून रहेको सरकारवालाहरूले बताएका छन् । औपचारिक तथा अनौपचारिक दुवै व्यवसाय विस्तार हुँदै गर्दा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको निरीक्षणमा सरकारको लगानी तथा जनशक्ति बढ्नुपर्ने देखिए पनि त्यस्तो हुन नसकेको उनीहरूले बताए । अक्युपेसनल सेफ्टी एण्ड हेल्थ प्रोफेसनल्स नेपाल (ओएसएचपीएन)ले बुधवार आयोजना गरेको कार्यक्रममा वक्ताहरूले सरकारले यो विषयलाई गम्भीरताका साथ नलिएको बताए । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सुनिश्चित गर्न सरकारका संस्था तथा त्यहाँ कार्यरत जनशक्ति कम रहेको उनीहरूको ठहर छ ।

२०५१ सालमा स्थापना भएका ११ ओटा श्रम कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रमा २० जनाको दरबन्दी छ । त्यसमा पनि दरबन्दीअनुसार कर्मचारी नभएको सरोकारवालाहरूले बताए ।

ओएसएचपीएनका अध्यक्ष खगेन्द्रबहादुर बस्नेतले त्यो बेलादेखि अहिलेसम्म कार्यालय तथा जनशक्ति नबढेको बताए । ती कार्यालयमा एक/एक जना निरीक्षक मात्रै भएको भन्दै उनले सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका विषयलाई गम्भीर रूपमा नलिएको बताए ।

खासगरी काम गर्दागर्दै चोटपटक, जनधनको क्षति, व्यवसायमूलक कार्यस्थलमा काम गर्ने श्रमिकको सुरक्षा र व्यवसायबाट हुने रसायन चुहावट, धूलो, फोहोर, ध्वनिलगायतका कारण मानव स्वास्थ्य, भौतिक सुरक्षा, रसायन सुरक्षा, जैविक सुरक्षा सम्बन्धमा तालीमको खाँचो र जनशक्ति बढाउन आवश्यक रहेको बस्नेतले बताए ।

उक्त संस्थाले बिहीवारदेखि पेशागत सुरक्षा र स्वास्थ्यसम्बन्धी काम गरिरहेका जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालीम आयोजना गरेको छ । पाँचौं संस्करणको सो तालीम कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक अर्जुनप्रसाद भट्टराईले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र्र काठमाडौंको भैंसेपाटीमा रहेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताए । श्रम गर्ने ठाउँमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने र क्षति न्यूनीकरण सबैको जिम्मेवारी हुनुपर्ने उनको धारणा छ । शुक्रवारसम्म सञ्चालन हुने उक्त तालीमको उद्घाटन सत्रमा भट्टराईले भने, ‘नेपालभित्र सञ्चालन हुने उद्योग, विकासले मानिसको जीवनमा क्षति पुर्याउनु हुँदैन । श्रमिकको स्वास्थ्य सुरक्षा सरकारको प्राथमिकतामा छ ।’ यस्तै व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रकी प्रमुख प्रतिभा गौतमले पेशागत सुरक्षा र स्वास्थ्य श्रमिकसँग प्रत्यक्ष जोडिएको हुँदा यसमा लगानीका साथै जनशक्ति पनि बढाउन आवश्यक भएको बताइन् । यद्यपि केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैनन् ।

केन्द्रमा २० जना कर्मचारीको दरबन्दी रहे पनि अहिले १३ जना रहेको र त्यही जनशक्तिबाट औद्योगिक क्षेत्र, सरसफाइ र निर्माण क्षेत्रमा निरीक्षणको काम भइरहेको उनले बताइन् । केन्द्रको कार्यक्षेत्र नेपालभर भए पनि स्रोतको कमी रहेको उनको भनाइ छ । ओएसएचपीएनका महासचिव टंकप्रसाद भट्टराईले खासगरी उत्पादनमूलक, निर्माण र यातायात क्षेत्रको निरीक्षणका लागि विभिन्न तालीम दिइरहेको जानकारी दिए । उनका अनुसार सन् २०२१ देखि हालसम्म संस्थाले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरेर १२४ जनाभन्दा बढीलाई तालीम दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।