काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार (आज) नेप्से परिसूचकमा भारी गिरावट आएको छ । यस दिन परिसूचक ५.१८ प्रतिशत अर्थात् १४५.०४ अंक घटेर २ हजार ६५१.३२ विन्दुमा पुगेको हो ।
अघिल्लो कारोबार दिन परिसूचक २ हजार ७९६ दशमलव ३८ विन्दुमा थियो । उक्त दिन परिसूचक १ दशमलव ४७ प्रतिशत बढेको थियो ।
आज नेप्से परिसूचक घटे पनि कारोबारमा भने नयाँ रेकर्ड बनाएको छ । यस दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयरको २३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यसअघि गत बुधबार कारोबारमा रेकर्ड बनेको थियो । उक्त दिन २१ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
यस दिन सेन्सेटिभ फ्लोट इन्डेक्स ६ दशमलव ०९, सेन्सेटिभ इन्डेक्स ५ दशमलव ५३ प्रतिशत र फ्लोट इन्डेक्स ५ दशमलव ५० प्रतिशतले घटेको छ ।
आज थ्रीस्टार हाइड्रोपावर र कुथेली बुकरी स्मल हाइड्रोको मूल्य १० प्रतिशत बढेको छ । यस्तै, नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, शुभम् पावर र हाथवे इन्भेस्टमेन्ट कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले घटेको छ भने अन्य १४ कम्पनीको शेयर मूल्य पनि ९ प्रतिशत तथा त्योभन्दा बढीले घटेको छ ।
यस दिन १३ ओटै समूहगत परिसूचक घटेका छन् । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ८ दशमलव २७ प्रतिशतले घटेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूहको सूचक ८ दशमलव ०३ प्रतिशतले, लगानी समूहको ६ दशमलव ३७ प्रतिशतले, जीवन बीमा समूहको ६ दशमलव ३३ प्रतिशतले, बैंकिङ समूहको सूचक ५ दशमलव ९६ प्रतिशतले घटेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।