जनकपुरधाम। अर्थतन्त्रमा आएको सुस्तीका कारण गत आर्थिक वर्ष (आव) २०८०/८१ मा धनुषामा ३७७ घरेलु तथा साना उद्योग व्यवसाय बन्द भएका छन् । विगतको कोरोना महामारीको असर तथा अहिले आर्थिक मन्दीले उद्योग व्यवसाय बन्द भएका हुन् ।
घरेलु तथा साना उद्योग उद्योग कार्यालय, धनुषाका प्रमुख किशोरीशरण यादवका अनुसार गत आवमा उद्योगतर्फ १ सय १८ र वाणिज्यतर्फ २ सय ५९ ओटा फर्म बन्द भएका छन् । सो अवधिमा वाणिज्यतर्फ १ हजार १२ ओटा फर्म दर्ता भएका छन् भने उद्योगतर्फ ८ सय ५ ओटा दर्ता भएको कार्यालयको तथ्यांक छ ।
कार्यालयका अनुसार गत आवमा वाणिज्यतर्फ २ हजार ५९ र उद्योगतर्फ ९ सय ७८ ओटा फर्म नवीकरण भएका छन् । यस्तै वाणिज्यतर्फ नै नामसारी १९, ठाउँसारी २४, पूँजी वृद्धि १ सय ६४, प्रतिलिपि २ सय २५, कारोबार थप १ सय ३६, नाम संशोधन ६९ र शाखा थप १३ ओटा भएको कार्यालय प्रमुख यादवले जानकारी दिए । यसैगरी उद्योगतर्फ नामसारी ५६, ठाउँसारी ५, पूँजी वृद्धि ४९, प्रतिलिपि १ सय ६, कारोबार थप १२, नाम संशोधन ४३ र शाखा थप दुईओटा भएको उनले बताए । कार्यालयले फर्म दर्ता तथा नवीकरणबापत गत आवमा रू. ९७ लाख ४४ हजार राजस्व संकलन गरेको छ ।
कोरोना महामारीको विश्वव्यापी असर, बैंकको चर्को ब्याजदर, मागमा आएको कमी लगायत कारण उद्योग व्यवसाय संकटमा पर्न थालेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । उनका अनुसार व्यवसाय घाटामा जान थालेपछि धेरै व्यवसायी पलायन हुने जोखिम बढेको छ । ‘शहर बजारमा पसल, व्यवसाय खाली हुन थालेका छन्, यसले हजारौंको रोजगारी गुमेको छ, व्यवसायी स्वयं पलायन हुन थालेका छन्,’ उनले भने ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।