काठमाडौं। कोका–कोलाले एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सञ्चालन गरेको ‘सक्षम एक्सेलिरेटर र मेन्टरशिप कार्यक्रम २०२४’ सम्पन्न गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण अन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख हिस्सा रहेको र यसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताइएको छ ।
कार्यक्रममा काठमाडौं, पोखरा, चितवन, नेपालगञ्ज र जनकपुरका उत्साही महिला सहभागीबाट रोचक विचार र व्यावसायिक योजना प्राप्त भएको बताइएको छ । बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले सहभागीले लिएर आएका योजनाले नेपालको उज्ज्वल भविष्यका लागि महिलाको भूमिका महत्त्वपूर्ण हुने देखाएको बताए ।
कार्यक्रममा नेपालमा कोका–कोलाका लागि देशीय निर्देशक चन्द्रिका कालियाले सक्षम एक्सेलिरेटर एण्ड मेन्टरशिप प्रोग्राम धेरै महिलाको लागि आशा र अवसरको ज्योति भएको बताइन् । उनले भनिन्, ‘उनीहरूको यात्रा र उपलब्धि साँच्चै प्रेरणादायी छन् र उनीहरूका सफलताका कथा व्यक्तिगत विजय मात्र नभई नेपालको आर्थिक र सामाजिक प्रगतिका कोसेढुंगा हुन् ।’
आवेदकका नवीन विचार र सफलताको सम्भावनाको आधारमा १० फाइनलिस्ट चयन गरिएका थियो । निर्णायकद्वारा गहन मूल्यांकन पछि रोजी महर्जनको नेतृत्वमा रहेको प्रोजेक्ट ग्रीन सर्कल, श्रेया मल्ल तथा शालु थापाको नेतृत्वमा रहेको पाल र प्रतिमा बस्याल तथा प्रियांशु कायस्थको नेतृत्वमा रहेको पासा नापालाई विजेता घोषणा गरिएको थियो । साथै प्रत्येक व्यवसायले रू. १ लाख पुरस्कार प्राप्त गरेका थिए । नगद पुरस्कार र प्रमाणपत्र कोका–कोला बेभरेज नेपालका प्रबन्ध निर्देशक नाथ, कोका–कोलाका अन्य अधिकारी र एटेलियर प्लेटफर्मका संस्थापक रितु गुरुङ केसीले प्रदान गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।