आजबाट विक्रीमा आयो आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयर

Share News

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गते (आज)बाट १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।

हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य भएका छन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर बी माइनस रेटिङ प्रदान गरेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छैन ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रुपैयाँभन्दा बढी नाफामा छ । उक्त अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो ।

तेस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी दायित्व रहेको कम्पनीको सम्पत्ति भने १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा र प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।