चितवनमा शतप्रतिशत धान रोपाइँ

फाइल तस्वीर ।

Share News

चितवन। यस वर्ष चितवनमा धान रोपाइँ सकिएको छ । समयमै मनसुन शुरू भएर किसानलाई सहज भएपछि गतवर्ष भन्दा यस वर्ष छिटो रोपाइँ सकिएको हो ।

कृषि विकास कार्यालय, चितवनका सूचना अधिकृत शुरूचि त्रिपाठीले गतवर्षभन्दा यस वर्ष चितवनमा छिटो र धेरै क्षेत्रफलमा समेत रोपाइँ भएको जानकारी दिइन् । कार्यालयका अनुसार जिल्लामा गतवर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो । यस वर्ष २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

‘समयमै मनसुनी वर्षा नहुँदा र नहरको पानी आउन नसकेकाले गतवर्ष ९५ प्रतिशत मात्र रोपाइँ भएको थियो, अहिले शतप्रतिशत रोपाइँ सकिएको छ,’ सूचना अधिकारी त्रिपाठीले भनिन् । गतवर्ष प्रशस्त पानी नपरेकाले किसानले धान फल्ने खेतमा कोदो, मकै जस्ता बाली लगाउनुपरेको थियो ।

भरतपुरमा बसोवास गर्दै आएका कृषक गोपाल कँडेलले अहिले समयमै पानी परेकाले धान रोपाइँ सकिएको बताए । ‘गतवर्ष मोटर र जेनेरेटर चलाएर बोरिङको पानीमार्फत रोपाइँ गरेको थिएँ, खर्च पनि धेरै भएको थियो,’ उनले भने, ‘यस वर्ष पानी पनि छिट्टै पर्यो, नियमित वर्षा पनि भयो ।’

कृषकलाई विगतका वर्षमा भन्दा यस वर्ष मल बीउ र सिँचाइको सहजता भएकाले पनि समयमै रोपाइँ सकिएको कँडेलको भनाइ छ । जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रको रूपमा लिने गरिन्छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिना जस्ता जातका धान लगाउने गरिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।