ठूला वाणिज्य बैंकको ऋणको लेखापरीक्षणका लागि केपीएमजीको प्रस्ताव

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । ठूला वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षणका लागि भारतस्थित केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसले प्रस्ताव पेस गरेको छ । 

नेपाल राष्ट्र बैंकले गत चैतमा नेदरल्यान्ड्सको डेलोइट फाइनान्सियल एडभाइजरी, भारतको केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिस र पाकिस्तानस्थित केपीएमजी तासिर हाडी एन्ड कम्पनीलाई प्रारम्भिक छनोट गरेको थियो । यस्तै भारतकै प्राइसवाटर हाउस कुपर्स र नेपालको सीएससी एन्ड कम्पनी (चार्टर्ड एकाउन्टेन्ट्स)को संयुक्त उपक्रम र भारतस्थित एसआर बाटलिबोई एन्ड एसोसिएट एलएलपी र नेपालको बीके अग्रवाल एन्ड कम्पनी (चार्टर्ड एकाउन्टेन्ट्स)को संयुक्त उपक्रम पनि राष्ट्र बैंककाे छनोटमा परेका थिए । 

प्रारम्भिक छनोटमा परेका कम्पनीहरूले प्रस्ताव आह्वान गरेपनि केपीएमजीले मात्र पेस गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले प्रारम्भिक छनोटमा परेका कम्पनीहरूलाई प्रस्ताव पेस गर्न शुरुमा असार २२ गतेसम्मको समय दिएको थियो । उक्त समयभित्र आवश्यक प्रस्ताव नपरेपछि राष्ट्र बैंकले दुई पटक समयसीमा थप गर्दै साउन २१ गतेसम्मको समय दिएको थियो । 

अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ)ले गत वर्ष विस्तारित कर्जा सुविधा (ईसीएफ) किस्ता दिनुअघि १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तरको लेखापरीक्षण गर्नुपर्ने शर्त राखेको थियो । 

आईएमएफसँगको सम्झौतामा सन् २०२४ अप्रिल अन्तिमबाट लेखापरीक्षण प्रक्रिया शुरु गरी डिसेम्बरसम्ममा सक्ने र भेटिएका कैफियतको आधारमा २०२५ फेबुअरीबाट सुधारको कार्ययोजना सञ्चालन गर्ने उल्लेख छ । तर, समयमा कम्पनीको छनोट नहुँदा निर्धारित समयमा काम नसकिने भएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।