काठमाडौं । बजार ३ हजार विन्दुमाथि पुगेपछि विक्रेता हाबी भएसँगै आइतवार (आज) नेप्से परिसूचक ३४ दशमलव ४७ अंक घटेको छ ।
आज नेप्से परिसूचक २ हजार ९६६ दशमलव ३३ विन्दुमा झरेको हो । यस दिन नेप्से इन्ट्राडेमा ३ हजार ४८ दशमलव १५ विन्दुसम्म पुगेको थियो । बढेको बजारमा कारोबारीहरूले प्रोफिट गरेसँगै आइतवार बजार घटेको देखियो । यसभन्दा अगाडि नेप्से दुई कारोबार दिनमा ७७ दशलमव ३४ अंक बढेको थियो ।
सस्तो मूल्यमा खरीद गरेकालाई छोटो अवधिमै राम्रो नाफा भएको छ । यसरी बढेको मौकामा अल्पकालीन कारोबारीहरूले नाफा बुक गर्दा बजार घटेको हो ।
यद्यपि, कारोबार रकममा भने उत्साहनै देखिएको छ । यसबाट बजारमा क्रेताहरू पनि पर्याप्त रहेको देखाउँछ ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ०९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत घटेको छ ।
३३० धितोपत्रको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९ सय १८ पटकमा रू. २८ अर्ब ८३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोत्रपमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्सको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८६३ मा झरेको छ । त्यस्तै सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य ८ दशमलव ५२ प्रतिशत घटेर रू. ५८६ दशमलव ४० कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ८२ करोड १४ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ९५८ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. ७८ करोड ७६ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी ४ दशमलव ४९ प्रतिशत घटेको छ भने बैंकिङ्ग समूहको सूचक शून्य दशमलव ८४ प्रतिशत वृद्धि भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।