चार बैंकले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने

Share News

काठमाडौं । चार बैंकले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक र कामना सेवा विकास बैंकले कुल १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।

पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरू अग्राधिकार शेयर जारी गर्ने तयारीमा लागेका हुन् । गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पूँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरूले पूँजी जुटाउने प्रक्रिया अघि बढाएका हुन् । 

तीमध्ये नबिल बैंकले अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकको भदौ १७ गते सम्पन्न विशेष साधारण सभाले रू. ५ अर्ब बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यस्तै एनआईसी एशिया बैंकले ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्न लागेको हो । यसको ब्याजदर ८ दशमलव ५ प्रतिशत छ । त्यस्तै एनएमबि बैंकले ३ करोड कित्ता र कामना सेवा विकास बैंकले ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने निर्णय गरेका हुन । एनएमबि बैंकको ब्याजदर ८ दशलमव २५ प्रतिशत रहेको छ भने कामना सेवा विकास बैंकको ब्याजदर ९ प्रतिशत छ । 

जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । अहिले चार बैंकले जारी गर्न लागेको ननक्युमुलेटिभ अग्राधिकार शेयर हो ।

बैंकको नाम अग्राधिकार शेयर कित्ता ब्याजदर प्रतिशत 
बैंकको नाम अग्राधिकार शेयर कित्ता  ब्याजदर प्रतिशत 
नबिल बैक  50,000,000.00 8
एनएमबि बैंक 30,000,000.00 8.25
एनआईसी एशिया बैंक 50,000,000.00 8.5
कामना सेवा विकास बैंक 3,500,000.00 9
कुल 133,500,000.00  

के हो अग्राधिकार शेयर ?

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ ।

अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । 

यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ । 

नेपालमा दुई कम्पनी एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन् । एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर थियो । अहिले भने त्यो शेयर सर्वसाधारण शेयरमा परिवर्तन भइसकेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।