आर्थिक अभियान १९औं वार्षिकोत्सव विशेष : खुलेका अवसरहरू

Share News

नेपालको अर्थतन्त्र केही वर्षदेखि सुस्ताएको छ । तर, केही क्षेत्रमा भने अकल्पनीय वृद्धि भएको छ, जसले नयाँ अवसरका ढोका खालेको पनि छ ।  जलविद्युत्, पर्यटन, सूचना प्रविधि र सूचना प्रविधिमा आधारित वित्त प्रविधि (फिनटेक), ई–कमर्श, राइड शेयरिङ, विद्युतीय सवारी, अटो एसेम्बलिङ तथा निर्याततर्फ सिमेन्ट र छुर्पी अर्थतन्त्रमा नयाँ आशा लिएर आएका छन् ।

गत आर्थिक वर्ष अर्थतन्त्रका अन्य क्षेत्रको वृद्धिदर राम्रो नभए पनि विद्युत् तथा पर्यटन क्षेत्रको वृद्धिदर उच्च रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।  देशको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशतले हुने कार्यालयको प्रक्षेपण भएकोमा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर १७ दशमलव ४४ प्रतिशत र आवास तथा भोजन क्षेत्रको २१ दशमलव ८४ प्रतिशत हुने अनुमान छ । 

खासगरी देशको जलविद्युत् क्षेत्रले केही वर्षमा अकल्पनीय फड्को मारेको देखिन्छ । ६ वर्षअघिसम्म लोडसेडिङ बेहोरिरहेको देश अहिले अँध्यारोबाट उज्यालोको यात्रामा मात्र हिँडेको छैन, देशको बिजुली भारत निर्यात पनि गर्दै आएको छ ।

देशमा विद्युतीकरण ९९ प्रतिशत पुगेको र देश बिजुलीको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्न पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार वर्षायाममा ७०० मेगावाट बिजुली निर्यात भइरहेको छ भने भारतले ९४१ मेगावाट बिजुली बेच्न स्वीकृति प्रदान गरेको छ ।

देशमा सञ्चालनमा रहेका विद्युत् आयोजनाहरूको कुल जडित क्षमता ३ हजार १७५ मेगावाट रहेकोमा आर्थिक २०८५/८६ भित्र १० हजार मेगावाट पुग्ने प्राधिकरणले अनुमान गरेको छ ।यसरी देशको जलविद्युत् क्षेत्रमा भएको वृद्धिमा प्राधिकरणका अतिरिक्त निजीक्षेत्रका लगानीकर्ताको ठूलो हात रहेका तथ्यांकले स्पष्ट देखाउँछ । उपलब्ध जम्मा जडित क्षमतामध्ये निजीक्षेत्रको योगदान ७५ प्रतिशतभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ । 

यससँगै नेपालको निजीक्षेत्र ५०० मेगावाटसम्मको जलविद्युत् परियोजना आफै बनाउन सक्षम भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना बताउँछन् । उनको कम्पनीले २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना बनाउँदै छ भने यो परियोजनाको डिजाइन पनि नेपाली कम्पनीले नै गरेको हो । 

अकोतर्फ कोरोना महामारीको निकै मारमा परेको पर्यटन क्षेत्र पनि जुर्मुराएको छ । खासगरी नेपालको अतिथि सत्कार क्षेत्रमा अन्तरराष्ट्रिय चेन होटल ब्रान्डको प्रवेश उल्लेखनीय रहेको छ । हायात, मेरियट, र्याडिसन, हिल्टन, ताज, लेमन ट्री, शिन्तामणि, दुसित प्रिन्सेस, इन्टरकन्टिनेन्टल होटेल ग्रूप (आईएचजी) आदि नेपाल प्रवेश गरेका केही प्रमुख अन्तरराष्ट्रिय होटल ब्रान्ड हुन् ।

यस्ता ठूला होटल ब्रान्डको उपस्थितिले अन्तरराष्ट्रिय भ्यालु चेनमा नेपाल पनि पर्ने र पर्यटक आकर्षित गर्न सहयोग पुग्ने पर्यटन व्यवसायी बताउँछन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अशोक पोखरेल भन्छन्, ‘चेन होटेल भित्रँदा हुने फाइदा भनेको उसको मार्केटिङ सञ्जालमा पहुँच सहज हुनु हो । बहुराष्ट्रिय ब्रान्ड भित्रँदा मार्केटिङका लागि राम्रो हो ।’

सरकारले चालू आर्थिक वर्षको बजेटमा ऊर्जा र पर्यटन दुवै क्षेत्रलाई पाँच रुपान्तरणकारी क्षेत्रको रूपमा परिभाषित गरेको छ । अन्य तीन क्षेत्रमा सूचना प्रविधि, कृषि र उद्यमशीलता र औद्योगिक विकास रहेका छन् ।

बजेटमा सरकारले आगामी १० वर्षमा ३० खर्ब रुपैयाँको सूचना प्रविधि निर्यात गर्ने र ५ लाख प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य राखेको छ । सरकारले दुई दशकदेखि बनेपामा आईटी पार्क बनाउने लक्ष्य सम्पन्न गर्न नसकिरहेकोमा यो लक्ष्य महत्त्वाकांक्षी देखिन्छ । तर, सरकारको प्रत्यक्ष सहयोगविना पनि निजीक्षेत्रको पहलमा ६७ अर्ब रुपैयाँ बराबरको आईटी सेवा सन् २०२२ मा निर्यात भएको अध्ययन प्रतिवेदन सन् २०२३ मा सार्वजनिक भएपछि सरकारको आँखा खुलेको देखिएको छ । इन्स्टिच्युट फर इन्टेग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)ले गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा आईटी सर्भिसेसको निर्यात ६४ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।

सूचना प्रविधिअन्तर्गत नेपालले सफ्टवेयर निर्यात गरिरहेको छ भने सूचना प्रविधिमा आधारित सेवाले देशभित्र छलाङ मारेको देखिएको छ । ई–कमर्श र फिनटेक क्षेत्रमा नसोचिएको परिवर्तन केही वर्षयता भएको छ । 

अलिबाबाको स्वामित्वमा रहेको दराज जस्ता थुप्रै अनलाइन सपिङ गर्ने साइट खुलेका छन्, जसले अर्डर गरेको सामान घरमै डेलिभरी गरिदिन्छ । फुडमाण्डु, फुडमारियोजस्ता अनलाइन अर्डरको भरमा घर तथा कार्यालयमा चाहेको रेस्टुरेन्टबाट खाना डेलिभर गरिदिने सेवा पनि देशमा फस्टाएको देखिन्छ । खासगरी कोरोना महामारीपछि यो सेवा फस्टाएको फुडमाण्डुका संस्थापक मनोहर अधिकारी बताउँछन् ।

त्यसैगरी पठाओ र इनड्राइभजस्ता राइड शेयरिङ सेवा पनि अहिले फस्टाइरहेका छन् । आफूसँग ट्याक्सी वा मोटरसाइकल छ भने स्वतन्त्र रूपमा आफूले चाहेअनुसार यो सेवा दिएर आयआर्जन गर्ने आधार राइड शेयरिङ सेवाले दिएको छ ।

पठाओ र इनड्राइभ अहिले नेतृत्वदायी स्थितिमा रहे पनि अन्य राइड शेयरिङ सेवा प्रदायक कम्पनीहरू पनि खुलेका छन् । पहिलो राइड शेयरिङ कम्पनी टुटलको रि–लन्च भएको छ । 

देशको अटोमोबाइल क्षेत्रमा पनि व्यापक परिवर्तन आएको छ । विगतमा भारतमा बनेका डिजेल–पेट्रोलमा आधारित सवारीसाधनको बोलवाला रहेको बजारमा अहिले विद्युतीय सवारीको रजगज देखिएको छ । अधिकांश विद्युतीय गाडी अहिले चीनबाट आयात हुन्छ । तिनले भारतीय गाडीको बजार ठूलो स्तरमा प्रतिस्थापन गरेको देखिएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ विद्युतीय गाडी भित्रेकोमा चीनबाट मात्र ८ हजार ६५ ओटा आएको भन्सार विभागको तथ्यांकले दखाउँछ । 

अटोमोबाइल क्षेत्रमै अर्को ठूलो परिवर्तन भनेको देशभित्रै सवारीसाधन एसेम्बलिङ उद्योग खुल्नु हो । बिगतमा सिंगो गाडी र मोटरसाइकल आयात हुँदै आएकोमा हाल अधिकांश दुईपांग्रे सवारीसाधन देशभित्रै एसेम्बल हुन्छ भने हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी ग्रूपले देशभित्रै चारपांग्रे गाडीको एसेम्बल शुरू गरेको छ । कोशी एनके मोटर्सले चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडी कम्पनीसँगको सहकार्यमा देशभित्रै विद्युतीय चारपांग्रे उत्पादन गर्ने तयारी गरेको छ ।खासमा देश सवारीसाधन एसेम्बलको युगमा प्रवेश गरेको छ । अधिकांश अटो निर्माता देश शुरूमा एसेम्बलिङ हुँदै गाडी उत्पादनसम्म पुगेका हुन् ।

अकोतर्फ सिमेन्टमा मूलत: आत्मनिर्भर रहेको नेपालले यसको निर्यात पनि गर्न थालेको छ । देशमा प्रशस्त चुनढुंगा खानी भएको सन्दर्भमा नेपाल क्लिंकरमा आत्मनिर्भर भएको छ भने गत आर्थिक वर्ष करीब ४ अर्बको क्लिंकर र सिमेन्ट निर्यात गरेको छ । अमेरिकामा तयारी कपडा, गलैंचाको ठूलो मात्रामा निर्यात हुँदै आएकोमा केही वर्षयता छुर्पी पनि व्यापक निर्यात भएको देखिएको छ । त्यसैले यो क्षेत्र अर्थतन्त्रका उदाउँदा क्षेत्रका रूपमा अगाडि आएको देखिएका छन् । यी क्षेत्रको विकास देशको अर्थतन्त्रको लागि केही हदसम्म आशाका झिल्काको रूपमा उभिन सक्षम भएको देखिएको छ । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।