कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पछिल्लो समय होटेल व्यवसायमा लगानी बढ्दै गएको छ । देश प्रादेशिक संरचनामा गएपछि वीरेन्द्रनगरमा ठूला तथा साना होटेल व्यवसायमा व्यवसायीले लगानी बढाउन थालेका हुन् ।
राजधानी भएपछि पर्यटकीय क्षेत्रका गतिविधिका साथै अन्य व्यावसायिक कारोबार बढ्दा होटेल व्यवसायी उत्साही भएका छन् । प्रदेश राजधानी घोषणा भएसँगै यहाँको शैक्षिक, प्रशासनिक, राजनीतिक, आर्थिक र पर्यटकीय अवस्था चलायमान भएपछि होटेल व्यवसाय फस्टाएको हो ।
प्रदेश राजधानी घोषणासँगै सरकारी निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रादेशिक कार्यलय स्थापना भएपछि पहिले नेपालगञ्जमा हुने कार्यक्रमहरू अहिले सुर्खेतमै हुँदा व्यवसायी हौसिएको होटेल व्यवसायी महासंघ कर्णालीका अध्यक्ष तर्कबहादुर शाहीले बताए ।
सरकारी तथा गैरसरकारी निकायका कार्यक्रम सुर्खेतमा केन्द्रीत हुँदा होटेल व्यवसायीले लगानीसमेत बढाउँदै गएका छन् । अध्यक्ष शाहीका अनुसार सुर्खेतमा साना तथा ठूला गरी करीब २ हजार ५ सय होटेल सञ्चालनमा रहेका छन् ।
ती होटेलमा झन्डै ५० अर्ब रुपैयाँ लगानी रहेको उनको भनाइ छ । अध्यक्ष शाहीले पछिल्लो समय सुर्खेत होटेल व्यवसायको हबका रूपमा विकास हुँदै गएको बताए । यसले ठूलो संख्यामा रोजगारी सृजना गर्नुका साथै राजधानीको पूर्वाधार विकासमा समेत टेवा पुर्याएको उनको भनाइ छ ।
होटेल व्यवसायमार्फत करीब ८ हजार जनाले रोजगारीको अवसर पाएका छन् । नेपालकै प्रख्यात पर्यटकीय स्थल रारा ताल, धार्मिक पर्यटकको आस्थाको केन्द्र कैलाश मानसरोवर जाने सडक कर्णाली कोरिडोरलगायतका कारण समेत सुर्खेतमा होटेल व्यवसायमा लगानी बढिरहेको होटेल स्टे भ्याली भ्यूका सञ्चालक समेत रहेका शाहीले बताए । कर्णालीको रारा ताल, नेपालकै अग्लो कालिकोटको पचालझरना, बडीमालिका, त्रिवेणी पाटनलगायत पर्यटकीय स्थलका कारण यहाँ आउने पर्यटकको संख्या बढ्दै गएको बताइन्छ ।
वीरेन्द्रनगरमा ‘स्टार’ स्तरका होटेल सिद्धार्थ शनि रिसोर्ट, होटेल शुभ, होटेल स्टे भ्याली भ्यू, होटेल दर्शन, डीएपसी, पानारोमा होटेल नमस्ते नेपाल, डि नमस्ते, भ्याली भ्यूलगायतका ठूलो लगानीका होटेल सञ्चालनमा छन् । उनीहरूले आफ्नो क्षमता विस्तार तथा स्तरोन्नतिसमेत गरेका छन् ।
२१ करोड रुपैयाँको लगानीमा होटेल स्टे भ्याली भ्यु सञ्चालनमा ल्याएका अध्यक्ष शाहीले सुर्खेतमा गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन सुविधा थप गरेर होटेल सञ्चालन गरिएको बताए । उनको होटेलमा १२० जनाले रोजगारी पाएका छन् । कर्णालीका प्रमुख पर्यटकीय क्षेत्रको प्रचारप्रसार र अवलोकन गर्न आउने पाहुनाका लागि स्तरीय बसोवासलाई ध्यानमा राखी शाखा विस्तार गरिने शाहीले बताए । उनले कर्णालीका १० ओटै जिल्लामा शाखा विस्तार गर्ने तयारी भइरहेको बताए ।
वीरेन्द्रनगर नगरपालिका–१४ को गढीमा स्टे होटेल भ्याली भ्यू र जुम्लाको चन्दननाथ नगरपालिका–६ मा रारा स्टे भ्याली भ्यू रिसोर्ट प्रालि स्थापना भइसकेको छ । उनले रारा जाने पर्यटकलाई लक्षित गरी जुम्लामा होटेल स्थापना गरिएको बताए । स्थानीय तथा अग्र्यानिक उत्पादनको प्रयोग र उपभोगमा टेवा पुर्याउँदै आएको भ्याली भ्यूले स्थानीय कृषकलाई रैथाने बाली उत्पादनमा प्रोत्साहनसमेत गर्दै आएको होटेलका व्यवस्थापक दीपक केसीले बताए ।
उद्योग व्यवसायी महासंघ सुर्खेतका अध्यक्ष भानुभक्त खड्काले जिल्लाका होटेल उद्योगलाई पर्यटनसँग पनिजोड्नुपर्ने बताउँछन् । रोजगारीको हिसाबले पनि होटेल उद्योग भरपर्दो क्षेत्रका रूपमा उदाएको छ । कुनै बेला व्यापारिक तथा राजनीतिक चहलपहल नहुँदा ठूलो लगानीमा होटेल सञ्चालन गर्न व्यवसायी डराउँथे । प्रदेश राजधानी भएपछि होटेलमा लगानी गर्ने होड पनि चलेको छ । राजधानी घोषणा भएसँगै प्रदेश सरकारका संरचना र ठूला आयोजना सञ्चालनमा छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन सञ्चालनमा छन् ।
राजधानी भएपछि पर्यटकीय क्षेत्रका गतिविधिका साथै अन्य व्यावसायिक कारोबार बढ्दा होटेल व्यवसायी उत्साही भएका छन् ।
सुर्खेतमा प्रदेश राजधानी बनेसँगै मानिसको चहलपहल बढ्दा होटेलले व्यवसाय वृद्धि तथा स्तरवृद्धि गरिरहेको उद्योग उपभोक्ता हित निर्देशनालयका वरिष्ठ अधिकृत माधवप्रसाद न्यौपानेले बताए । ग्राहकले सुविधा सम्पन्न होटेलको आवश्यकता महसूस गर्न थालेपछि साना होटेल व्यवसायीले लगानी वृद्धि गरेर सेवा सुविधायुक्त होटेल स्थापना गरिरहेको न्यौपानेले बताए ।
होटेल डी नमस्ते सुर्खेतका म्यानेजर रेशम भण्डारीले प्रदेश राजधानी भएपछि स्तरीय होटेल खुल्नेक्रम बढिरहेको बताए । अहिलेको समयमा अन्य व्यवसायमा भन्दा होटेल व्यवसायीले लगानी बढाइरहेका छन् । प्रदेश भएपछि धेरै ठूला होटेल व्यवसाय थपिएको उनले बताए । उनले भने, ‘पहिले होटेल नचलेर चिन्ता थियो, अहिले पाहुनालाई सुविधा दिन नभ्याउँदा गाह्रो भइरहेको छ ।’
पर्यटन विकास मञ्च सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले प्रदेश राजधानीका रूपमा विकास भएकाले मात्रै होटेल व्यवसायमा लगानी बढेको बताए । अन्य पर्यटनलगायत गतिविधि नभए पनि राजधानी भएपछि सरकारी कामकाज तथा गैरसरकारी संस्थाले आफ्ना गतिविधि सुर्खेतमा केन्द्रित गर्दा होटेल व्यवसायमा लगानी बढेको उनले बताए । उनले अग्र्यानिक अशोका होटेल सञ्चालनमा ल्याएका छन् । आफ्नो होटेलमा कर्णालीका स्थानीय वस्तु कोदो, कागुनो, फापरलगायत परिकार पाइने उनले बताए । सुर्खेत आउने पाहुनालाई अन्य होटेलमा भन्दा केही फरक स्वाद दिनका लागि होटेल व्यवसायमा लगानी बढाएको शर्माको भनाइ छ ।
होटेल डी नमस्ते सुर्खेतका व्यवस्थापक रेशम भण्डारीले अहिलेको समयमा अन्य व्यवसायमा भन्दा होटेल व्यवसायीले लगानी बढाइरहेको बताए ।
सुर्खेतमा होटेलमात्र होइन, स्तरीय रेस्टुराँ पनि खुल्ने क्रम बढेको छ । मारिकाज, चकटी, टाकोमा जस्ता ठूलो लगानीका रेस्टुराँ यहाँ खुलेका छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेश राजधानी होटेल व्यवसायमा आर्कषण बढेको वताए । होटेल व्यवसायमा लगानी वृद्धि भएसँगै सुर्खेत विमानस्थलको सेवा विस्तार र सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । काठमाडौं आवतजावतमा केही समस्या कम भए पनि कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा आवतजावत गर्न नेपालगञ्जको भरपर्ने अवस्था रहेको उनको भनाइ छ । विमानस्थल विस्तार गरी हवाईसेवा प्रभावकारी बनाउन सकेमा पर्यटक आवतजावत पनि बढ्ने र यसले होटेल व्यवसाय फस्टाउने उनको भनाइ छ । उनले भने, ‘रारा, कैलाश मानसरोवर र कर्णालीका विभिन्न जिल्लामा प्रवेशद्धार सुर्खेत हो, तर सडक र हवाइसेवा राम्रो नहुँदा पर्यटक नेपालगञ्ज भएर जान बाध्य छन् ।
लगानीको पर्खाइमा पर्यटन
पर्यटनका दृष्टिकोणले प्रशस्त सम्भावना बोकेको कर्णालीमा नेपालकै ठूलो ताल मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो, सल्यानको कुभिण्डे दह, सुर्खेतको बुलबुले ताल, ऐतिहासिक तथा पुरातात्त्िवक काँक्रेविहारलगायत पर्यटकीय गन्तव्य छन् ।
यस्तै रारा राष्ट्रिय निकुञ्ज, काञ्जिरोवा हिमाल, विश्वकै उच्च स्थानमा रहेको धो ताराप बस्ती, दुर्लभ रेडपाण्डा, र्याफ्टिङको मज्जा लिन सकिने भेरी कर्णाली नदी, मानव सभ्यताको ऐतिहासिक थलो हुम्लाको लिमी बस्ती पर्यटकको पर्खाइमा छन् ।
मानसरोवर कैलाश पर्वत जाने छोटो दुरीको मार्ग हुम्ला, खस भाषा तथा सिंजा सभ्यता अध्ययन र उजागरका लागि सरकारको दृष्टि पुग्न सकेको छैन । साहसिक पर्यटन र्याफ्टिङका लागि भेरी कर्णाली र तिला नदीका बारेमा प्रचारप्रसार मात्र गर्न सके अप्ठ्यारो बाटोमै भए पनि पर्यटकको मन तानेर यहाँसम्म घुम्न आउने सम्भावना उत्तिकै छ ।
बितेका ५ वर्षमा कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहले सामान्य प्रचारप्रसार गर्ने बाहेक पर्यटनका लागि खासै योजना बनाउन सकेको देखिँदैन । पर्यटक पुग्नका लागि आधारभूत पूर्वाधारका रूपमा सडक नहुनु, स्तरीय होटेल, होम स्टेलगायत पर्यटकका लागि उचित बसोवासको व्यवस्था गर्नेतर्फ सरकारी तथा निजीक्षेत्रबाट काम भएको देखिँदैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।