तीजको अवसरमा शिक्षिकाहरूले गरे वृक्षरोपण

Share News

कर्णाली । आज नेपाली हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज । यसको रौनकता तराई, भित्री मधेस, पहाडदेखि हिमालसम्म छ । जताततै अहिले तीजका गीतहरू बजिरहेका छन् । 

महिलाले आफ्नो रोजाइअनुसार तीज मनाएको पाइन्छ । तीजलाई अवसर बनाएर कतै सिर्जनशील र मानवजीवन अस्तित्वलाई बचाउने खालका उदाहरणीय कार्य पनि भएका छन् ।

तीजको अवसरमा चन्दननाथ नगरपालिका–५ जुम्लामा अवस्थित एसिया इन्टरनेशनल इङ्लिस स्कुलका शिक्षिकाहरूले सोही नगरपालिकाको वडा नं १ स्थितको नाङ्गो डाँडोमा सल्लाका वृक्षरोपण गरेका छन् । उक्त स्कुलमा अध्यापनरत शिक्षिका अनुशा महतले विरह पोख्ने या त महँगो एवं भड्किलो बनाउनेभन्दा सिर्जनशील तरिकाले मनाउने संस्कृतिका रूपमा तीज पर्वको विकास गर्नुपर्ने तर्क गरिन् । 

‘हरेक मान्छेलाई खुसी एवं सुखी भएको महसुस गर्न स्वथ जीवन र शान्त वातावरण अपरिहार्य हुन्छ । अखाद्य वस्तुको सेवन र महँगो सामानको पहिरनबाट स्वस्थ जिन्दगानी बन्न सक्दैन,’ उनले भनिन्, ‘मानव र प्रकृतिबीचको सुमधुर सम्बन्धले मात्र मानवजीवन, स्वस्थ, शान्त र खुसी हुनसक्छ । त्यसलाई केन्द्रमा राखेर तीजको अवसरमा हामीले पर्यावरण जोगाउन वृक्षारोपण गरेका हौं । यसैमा हामीलाई खुसी मिलेको छ ।’ 

लामो समयदेखि महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी दिलमाया शाहीले तीज पर्वमा आदिम र अत्याधुनिक कालभन्दा पर रहेर मनाउँदा सुसंस्कृत एवं सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताइन् । आदिमकालजस्तो महिलालाई पितृसत्ताले दिएको गलत उपमा ‘नारी ताड्नाकी भारी’ भन्ने कथ्य र आधुनिकतामा नाममा छाडा एवं अराजक गतिविधि रूपान्तरित समाजका लागि पाच्य नहुने उनको भनाइ छ ।   

शाहीले भनिन्, ‘तीज महिलाले आफ्नो रोजाइमा मनाउने पर्व हो । पर्व मनाउन पाउनु उनीहरूको अधिकार हो । यद्यपि अधिकारका नाम अराजकता, द्वेष भाव फैलाउन पाउने छूट हाम्रो सामाजिक संरचनामा कसैलाई छैन र हुनुहुँदैन । कसैको निजी मामलामा सोधखोज गर्न आवश्यक छैन तर समाजलाई गलत सन्देश दिने र फक्रिँदै गरेका मुनाहरूको मष्तिष्कमा नराम्रो छाप पर्ने गतिविधिहरू बन्द हुनैपर्छ।’

महँगा पहिरनबाट आफ्नो सानसौकात देखाउने होडबाजीका रूपमा देखिन थालेको तीज पर्व पछिल्लो समयमा उच्छृङ्खल गतिविधि हुनुले समाजमा नराम्रो सन्देश जानुका साथै आमाहरूको अस्तित्वमाथि प्रश्नचिह्न खडा हुन थालेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । रासस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।