काठमाडौं। डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापतको प्रिमियम महशुल तिर्न बाँकी रहेका उद्योगीलाई बक्यौता तिर्न ताकेता गर्दै नेपाल विद्युत् प्राधिकरणले फेरि पत्र पठाएको छ ।
यसअघि गत असार ९ गते १५ दिनको म्याद तोकेर बक्यौता तिर्न प्राधिकरणले पत्र पठाए पनि उद्योगीले तिर्नुपर्ने ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ तिर्न नमानेपछि प्राधिकरणले केही उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको थियो । प्राधिकरणले त्यसबेला रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीललाई दिइएको बिजुली काटिदिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मौखिक र विद्युत् नियमन आयोगको लिखित निर्देशनपछि दबाबमा परेको प्राधिकरणले साउन ८ गते ३ महीनाभित्र बक्यौता तिर्नुपर्ने शर्तमा ती उद्योगमा पुन: बिजुली जोडेको थियो ।
‘हामीले बक्यौता तिर्न ३ महीना समय दिए पनि हालसम्म कोही पनि उद्योगी बक्यौता तिर्न आएका छैनन् । त्यसैले बिजुली जोडेको करीब डेढ महीनापछि समयमै महशुल तिर्न आउनुस् भनेर उद्योगीलाई रिमाइन्डर पत्र पठाइएको हो । मंगलवार सबै उद्योगलाई पत्र पठाइसकिएको छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
उद्योगीहरूले भने टाइम्स अफ डे मिटर (टीओडी) को रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् । उनीहरूले प्रमाण नभएको भन्दै बक्यौता नतिर्ने अडान लिएका छन् । विद्युत् नियमन आयोगको निर्देशनका आधारमा प्राधिकरणले उद्योगीहरूलाई ३ महीना समय दिएको हो । अहिले यो विषय संघीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छलफलमा छ ।
उद्योगीहरूले भने टाइम्स अफ डे मिटर (टीओडी) को रेकर्ड दिए मात्रै बक्यौता तिर्ने बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।