कृषि विकास बैंकद्वारा विद्यालयलाई सहयोग

Share News

काठमाडौं। कृषि विकास बैंकले तनहुँको भानु नगरपालिका–८, देउरालीटारस्थित निर्जला आधारभूत विद्यालयलाई स्यानीटरी प्याड तथा सोको भेण्डिङ मेशिन लगायत विविध सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत छात्राको नियमित पठनपाठनमा सहजताको लागि बैंकले उक्त सामग्री सहयोग गरेको बताइएको छ । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले बैंकको संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गतको सहयोगमा उक्त सामग्री वितरण गरेको बताइएको छ ।

काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा बिबिए अध्ययनरत उन्नती जोशी, समीक्षा घिमिरे, रोजिका थापा र आर्जु जोन्छेको सक्रियतामा उक्त सामग्री सहयोग गरिएको बताइएको छ । महीनावारी अझै पनि लज्जाको विषयसँग जोडिँदै आएको र विशेष गरी ग्रामीण क्षेत्रका छात्रा महीनावारी भएको समयमा विद्यालय नजाने समस्या कायमै रहेकोले उक्त समस्या समाधानको लागि सहयोग गरेको बताइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर घिमिरे, निमित्त प्रधानाध्यापक आशबहादुर घिमिरे, बैंकको डुम्रे शाखाका प्रबन्धक अरुण पौड्याल, सहायक राम चन्द्र बास्तोला, विद्यालयका शिक्षक, अभिभावक लगायतको सहभागिता थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।