काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ११ प्रतिशत बोनस शेयर वितरणपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को लागि करबाहेक ११ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले अघिल्ला दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित लगायत बोनस र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असोज २१ गते वार्षिक साधारण सभा गर्ने निर्णयसमेत गरेको छ । कम्पनीले काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस्तै, सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन र ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र ११ प्रतिशत बोनस शेयर प्राप्त गर्नेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ९३ करोड १७ लाख ४५ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रक्रिया अघि बढाउनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।