मेलम्ची भ्रष्टाचार प्रकरण पूर्वसचिव ठाकुरसहित चार जनालाई तोकियो ८ वर्ष कैद

Share News

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले नेपाल सरकारका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्षका दरले कैद सजाय सुनाएको छ । अदालतले उनीहरूलाई भदौ २४ गते नै कसुरदार ठहर गरे पनि सोमवार सजाय तोकिएको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारिबाबु श्रेष्ठको इजलाशले ठाकुरले १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँबराबर भ्रष्टाचार गरेको ठहर गर्दै बिगो असुल गरी त्यत्ति नै जरीवाना र ८ वर्ष कैद हुने गरी सजाय निर्धारण गरेको हो ।

सचिवजस्तो जिम्मेवार र निर्णायक पदमा भएको व्यक्तिले भ्रष्टाचार गरेकाले १ महीना थप कैद सजाय हुने फैसला पनि विशेष अदालतले गरेको छ । मेलम्ची खानेपानी विकास समिति (बोर्ड) का तत्कालीन अध्यक्षका हैसियतले उनले गरेका निर्णयबाट ठूलो नोक्सानी पुगेको विशेष अदालतको ठहर छ । यस्तै, मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि १० करोड १० लाख ६१ हजार ७५ रुपैयाँ नै भ्रष्टाचार गरेको अदालतको ठहर छ । उनलाई पनि उक्त बिगो असुल गरी त्यत्ति नै जरीवाना तथा ८ वर्ष कैद सजाय सुनाएको छ । उनलाई पनि १ महीना थप कैद सजाय हुने निर्णय अदालतले गरेको छ ।

अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ भ्रष्टाचार गरेकाले उक्त रकम असुल गरी त्यत्ति नै जरीवाना तथा ८ वर्ष कैद हुने अदालतको फैसला छ । उनलाई पनि १ महीना थप कैद सजाय हुने निर्णय अदालतले गरेको छ । परामर्शदाता शिवकुमार शर्माले २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ भ्रष्टाचार गरेकाले उक्त रकम असुल गरी यत्ति नै जरीवाना तथा ८ वर्ष कैद सजाय हुने अदालतको फैसला छ । तर, उनी ज्येष्ठ नागरिक भएकाले २५ प्रतिशतले हुने २ वर्ष कैद सजाय छूट पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित १७ जनामाथि मुद्दा चलाए पनि पूर्वसचिव ठाकुरसहित तीन कर्मचारी, १ परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ । पूर्वसचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, मुकुन्दप्रसाद पौडेललगायतले सफाइ पाएका छन् । सहसचिव रुद्रसिंह तामाङले पनि सफाइ पाएका छन् ।

ठेकेदार कम्पनी तथा तिनका सञ्चालकहरूबाट भने बिगो तथा जरीवाना भराउने निर्णय अदालतले गरेको छ । परामर्शदाता इप्टिसा सर्भिस डे इन्जिनियर्स एसएल र बीईटीएस कन्सल्टिङ सर्भिसेज लिमिटेड जेभीबाट ६ करोड २१ लाख ९३ हजार ५९६ बिगो र त्यत्ति नै जरीवाना असुल गर्न अदालतले आदेश दिएको छ । निर्माण व्यवसायी सीएमसी डी राभेनाबाट २६ करोड ११ लाख ६ हजार ९९१ रुपैयाँ बिगो र त्यत्ति नै जरीवाना असुल्नुपर्ने फैसला भएको छ ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, लेखा उपसचिवहरू मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन् । 

मेलम्ची भ्रष्टाचार मुद्दामा कसलाई कति कैद सजाय/जरिवाना ?

क्र.सं. नाम पद कैद सजाय जरिवाना (रू.)
गजेन्द्रकुमार ठाकुर तत्कालीन सचिव ८ वर्ष १ महीना १० करोड १० लाख ६१ हजार
सूर्यराज कँडेल तत्कालीन कार्यकारी निर्देशक ८ वर्ष १ महीना १० करोड १० लाख ६१ हजार
रामचन्द्र देवकोटा तत्कालीन कार्यकारी निर्देशक ८ वर्ष १ महीना २ करोड ९५ लाख ६५ हजार ६०३
शिवकुमार शर्मा टिम लिडर (परामर्शदाता इप्टिसा) ६ वर्ष १ महीना २ करोड ९५ लाख ६५ हजार ६०३
इप्टिसा परामर्शदाता कम्पनी  ६ करोड २१ लाख ९३ हजार ५९६
बेट्स परामर्शदाता कम्पनी  ६ करोड २१ लाख ९३ हजार ५९६
सीएमसी ठेकेदार कम्पनी २६ करोड ११ लाख

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।