शेयरको भित्री कारोबारबारे विशेष अदालतको व्याख्या

Share News

शेयरको भित्री कारोबार हुनका लागि पहिलो शर्त भनेको कम्पनी स्टक एक्सचेन्जमा सूचीकरण भएर निरन्तर कारोबार भएको हुनुपर्छ । यस मुद्दामा विवादमा रहेको कम्पनी सूचीकृत र निरन्तर कारोबार गर्दै आएको कम्पनी हो भन्ने तथ्यमा विवाद छैन । 

त्यस्तै कारोबारकर्ताको मुनाफा आर्जन गर्ने उद्देश्य हुनुपर्छ । यी प्रतिवादी गुरुप्रसाद न्यौपाने रिडी हाइड्रो पावर प्रालिको अध्यक्ष पदमा रहेको हुँदा कम्पनीको महत्त्वपूर्ण जिम्मेवारी वहन गर्ने हैसियत भएका भित्री मानिस भएको तथ्यमा विवाद भएन । 

निजले मुनाफा आर्जन गर्ने उद्देश्यले नै कम मूल्यमा शेयर खरीद गरी बढी मूल्यमा विक्री गर्ने ध्येय राखेकोमा पनि विवाद छैन । भित्री कारोबारसम्बन्धी विषयको उठान सूचीकरण भइसकेपछि सक्रिय हुन्छ । सूचीकृत कम्पनीमा उत्पन्न हुने सबै सूचना मूल्य संवेदनशील हुँदैनन् । शेयरको मूल्य संवेदनशील सूचनाको आधारमा भित्री कारोबार हुन्छ । 

सूचीकृत कम्पनीमा उत्पादन हुने सूचनाले शेयरको मूल्य बढ्छ वा घट्छ भने यस्ता सूचनालाई मूल्य संवेदनशील सूचना भनिन्छ । यस्ता सूचनामा पहुँच हुने कुनै पनि व्यक्तिले त्यस्ता सूचना चुहाई आफूले वा आफ्ना इष्टमित्रमार्फत गर्ने शेयर कारोबार नै भित्री कारोबार हो । प्रस्तुत मुद्दामा प्रतिवादी गुरुप्रसाद न्यौपानेले गल्ती भएको भनी बयानमै उल्लेख गरेको हुँदा भित्री कारोबार गरेको तथ्य स्थापित हुन आएको छ । 

शेयरको भित्री कारोबारमा कोको संलग्न हुन सक्छन् भन्ने विषयमा पनि उक्त ऐनको दफा ९२ मा तोकिएको पाइन्छ, जसमा

(१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी,

(२) उक्त कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति (बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र 

(३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, सञ्चालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) । 

(४) शेयर रजिस्ट्रार, केन्द्रीय निक्षेपक, स्टक एक्सचेन्ज, विषयगत नियामक र पूँजीबजार नियामकका कर्मचारी पनि पर्न सक्छन् ।

प्रस्तुत मुद्दामा यी प्रतिवादी गुरुप्रसाद न्यौपाने रिडी पावर कम्पनीको अध्यक्ष पदमा वहाल रहेको देखिन्छ । अध्यक्ष जस्तो जिम्मवार पदमा रहेको व्यक्तिले सोही कम्पनीको शेयर नै खरीद गर्न नपाउनेमा उक्त कानूनी व्यवस्थाको बर्खिलाप प्रथमत: शेयर खरीद गरेको देखिन्छ । आफ्नो भित्री सूचनामा रहेको पहुँच र प्रभावको दुरुपयोग गरी निजले उक्त खरीद भएका शेयर विक्री गरी शेयर किनबेचको कारोबारबाट रू. १,९९,१०,२५२।– रकम जानीजानी प्राप्ति, धारण एवं नि:सर्ग गरेको देखिन्छ । 

यसरी यी प्रतिवादीले रिडी पावर कम्पनीको बैठकबाट उक्त कम्पनीसँग भएको रैराङ हाइड्रोपावर कम्पनीको १४ लाख कित्ता शेयर विक्री गर्ने भनी भएको निर्णयको सूचनालाई दुरुपयोग गरी भित्री करोबार गरेको पुष्टि हुन्छ । जसका कारण धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ विपरीतको कसूर गरेको अभियोगमा सम्बद्ध कसूरमा मुद्दा चलेको र सोही भित्री कारोबारबाट कमाएको सम्पत्ति जानीजानी प्राप्ति, धारण एवं नि:सर्ग समेत गरेको हुँदा निज प्रतिवादीले सम्पत्ति शुद्धीकरण समेतको कसूर गरेको देखिन आउँछ । 

अर्को प्रश्न पब्लिक लिमिटेड कम्पनीको अध्यक्ष पदमा वहाल रहेको व्यक्तिले सोही कम्पनीको शेयर खरीद गर्न मिल्छ मिल्दैन ? भन्ने सम्बन्धमा विचार गरौं । यसका निम्ति सर्वप्रथम विद्यमान कानूनी व्यवस्थालाई नै दृष्टिगत गरी  कानूनको कसीमा यस प्रश्नको उत्तर पहिल्याउनु वाञ्छनीय हुन आउँछ । 

धितोपत्र ऐन, २०६३ को दफा ९१ मा भित्री कारोबार भन्नाले (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले भित्री कारोबार गरेको मानिने कानूनी व्यवस्था गरेको पाइन्छ । उक्त कानूनी व्यवस्थाअनुसार यस प्रकृतिका कार्यलाई अपराधीकरण गरी वित्तीय कसूर कायम गरेको देखिन्छ भने सोही कसूरलाई सम्पत्ति शुद्धीकरण निवारण प्रयोजनार्थ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को अनुसूचीको खण्ड (प) मा सम्बद्ध कसूर भनी उल्लेख गरेको पाइन्छ । 

उपर्युक्तबमोजिमको कानूनी व्यवस्थामा धितोपत्र बोर्ड ऐन, २०६३ को दफा ९२ मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति भनी उल्लेख भएबाट पब्लिक लिमिटेड कम्पनीको अध्यक्ष पदमा बहाल रहेका व्यक्ति यी प्रतिवादी गुरुप्रसाद न्यौपानेले सोही कम्पनीको शेयर खरीद गर्न मिल्ने भन्ने देखिन आउँदैन । 

प्रस्तुत मुद्दाका मुख्य प्रतिवादी निज गुरुप्रसाद न्यौपानेले मिति २०७८/२/४ गते बसेको रिडी पावर कम्पनीको बैठकबाट उक्त कम्पनीसँग भएको रैराङ हाइड्रोपावर कम्पनीको १४ लाख कित्ता शेयर विक्री गर्ने भनी भएको निर्णय निजलाई मात्र जानकारीमा रहेकोमा विवाद छैन । उक्त मितिको २० दिन देखि ४६ दिनअघि तथा २९ दिनदेखि ८२ दिनपश्चात् उक्त कम्पनीको शेयर २९९५३ कित्ता रू.६२,४३,५७३।– मा खरीद गरी रू.२,६१,५३,८२५।– मा विक्री गरेको र विक्रीको अन्तरबाट निजले रू.१,९९,१०,२ ५२।– रकम जानीजानी प्राप्ति, धारण एवं नि:सर्ग समेत गरी सम्पत्ति शुद्धीकरण गरेको भनी अभियोग माग दाबी लिएको पाइन्छ । आरोपपत्रमा उल्लिखित यस तथ्यलाई निज प्रतिवादीले अन्यथा भन्न सकेको पाइँदैन । 

बरु आफूबाट त्रुटि भएको कुरा स्वीकार गरी सानो संख्याको शेयर त्यो पनि भूलवश विक्री गरेको हुँ भनी बयान गरेको परिप्रेक्ष्यमा निज उपरको आरोपित कसुर प्रथम दृष्टिमा नै स्थापित हुन आउँछ । मुनाफा आर्जन गर्ने उद्देश्यले निजले उक्त शेयर खरीद गरी विक्री गरेको र करीब २ करोड रुपैयाँ मुनाफा लिएको देखिँदा आरोपित कसुर पुष्टि हुन आउँछ ।

शेयरको सानो वा ठूलो जति नै आकारको संख्या किन नहोस् भित्री सूचनाको स्रोत भएको व्यक्ति वा पदाधिकारीलाई कानूनत: शेयर खरिद विक्री गर्न अनुमति दिएको पाइँदैन । 

किनभने त्यस्तो सुविधाको प्रयोग गर्दा सो व्यक्तिलाई गैरकानूनी प्रक्रियाबाट अनुचित लाभ प्राप्त हुन्छ भने त्यसको असर स्वरूप शेयर मार्केटमा यसले अनपेक्षित हलचल सिर्जना गर्ने सम्भावना रहन्छ । त्यस्तो भित्री कारोबार आकारमा सानै भए पनि खराब नतिजा ल्याउँछ भने ठूलो मात्रामा हुन थालेमा राष्ट्रिय अर्थतन्त्रमा नै विचलन सिर्जना हुन पुग्दछ । त्यसै कारण नियामक निकायले त्यस्तो कार्यको नियमन गर्ने कानूनी प्रबन्ध गरिएको हो । साथै त्यस्तो कार्यलाई कसुरजन्य कार्य मानी दण्डनीय बनाइएको हो । 

३२. यस मुद्दामा यी प्रतिवादीले आफूले भुल वा त्रुटिवश उक्त कारोबार गरेको भनी अदालतको बयानको सवाल जवाफ नं. १० र अनुसन्धानको क्रममा मौकामा गरेको बयानको सवाल जवाफ नं. ९ मा स्वीकार गरेको देखिन्छ । निज प्रतिवादी गुरुप्रसाद न्यौपानेको सामान्य भूल भएकै रहेछ भन्ने मान्ने हो भने पनि कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने फौजदारी कानूनको मान्य सिद्धान्त अनुरूप कानूनको नजरमा सो कार्य फौजदारी कसुर हुने भएकोले आरोपित कसुरबाट उन्मुक्ति दिन मिल्ने देखिंदैन । 

त्यस्तो त माथि उल्लिखित ऐनको दफा ९२ अनुसार भित्री सूचना लिएर बसेको व्यक्तिले गरेको शेयर खरिद विक्रीको कार्यलाई कसुरको परिभाषाभित्र समेटिएको पाइन्छ । कम्पनीको अध्यक्षजस्तो अन्तिम जिम्मेवारीको पदमा बहाल रहेको व्यक्तिले त्यस्तो भूल गर्ने छूट कानूनले दिएको भन्न मिल्दैन । पदीय जिम्मेवारी र इमानदारीको कसीमा यस्तो महत्त्वपूर्ण पदमा रहेका पदाधिकारीलाई भूलचुक गर्ने छूटसमेत दिन मिल्दैन । यसरी सूचीकृत कम्पनीको पदाधिकारीलाई शेयरको भित्री कारोबार गर्नमा रोक लगाइनुको पछाडि रहेको सैद्धान्तिक आधार के हो भने त्यस्ता पदाधिकारी कानूनको शासन अन्तर्गत चल्नु पर्दछ ।

(गुरु न्यौपानेविरुद्धको मुद्दामा विशेष अदालतले गरेको फैसलाको अंश)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।