नेपालका अर्थमन्त्री र चीनका उपप्रधानमन्त्रीबीच पूर्वाधार निर्माण र परियोजना कार्यान्वयनबारे छलफल

Share News

काठमाडौं । चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्यहाँका उपप्रधानमन्त्री हि लिफेङलाई भेटेर दुई देशका आपसी हित र सहयोगबारे छलफल गरेका छन् । 

उक्त भेटवार्तामा चीनका उपप्रधानमन्त्री लिफेङले आफ्नो देशबाट घोषणा एवं सहमतिबमोजिम सञ्चालित सहयोगका परियोजना कार्यान्वयनमा तीव्रता दिने र नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा–छहरे सुरूङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन चिनियाँ उपप्रधानमन्त्रीसँग आग्रह गरेका थिए । 

भेटमा भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि सहयोग गर्न आग्रह गरेको जनाइएको छ । नेपालको तर्फबाट गरिएको अनुरोधका विषयप्रति चीन सरकार सकारात्मक रहेको र कामहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको अर्थमन्त्री पौडेलको सचिवालयले बताएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।