एनआईसी एशिया बैंकद्वारा पुस्तकालय भवन निर्माणमा सहयोग

Share News

काठमाडौं। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामुदायिक विद्यालयमा निर्माण गरिएका भवनमध्ये दुई विद्यालयका पुस्तकालय भवन उद्घाटन गरेको छ । बैंकले झापाको बुद्धशान्ति गाउँपालिका–२ स्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा रहेको गौरीगञ्ज माध्यमिक विद्यालयलाई पुस्तकालय भवन उद्घाटनसहित हस्तान्तरण गरेको हो ।

विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ बैंकको सहयोग र सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा भवन निर्माण गरिएको बताइएको छ । यी पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करीब २ हजार ५०० विद्यार्थी तथा शिक्षक/शिक्षिका प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । 

बैंकले यसअघि कैलालीको मोहन्याल माध्यमिक विद्यालय, सिरहाको बाला सुन्दरी माध्यमिक विद्यालय, पर्साको सिद्धार्थ माध्यमिक विद्यालय, तनहुँको पवित्रा माध्यमिक विद्यालय, रूपन्देहीको पब्लिक सेकेन्डरी स्कुल र चितवनको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण गरी हस्तान्तरण गरिसकेको जानकारी दिएको छ । बैंकले यी पुस्तकालय भवन निर्माणका लागि रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।