नेप्सेसँगै घट्यो कारोबार रकम, उत्पादन तथा प्रशोधन समूहबाहेक सबैको सूचक ओरालो

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २२ दशमलव ३६ अंक घटेको छ । यससँगै नेप्से २ हजार ४६४ दशमलव ४० विन्दुमा झरेको हो ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन रू. ४ अर्ब ८४ करोड बराबरको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडमा झरेको छ ।

पछिल्लो समय लगानीकर्ता सक्रिय हुन छाडेकाले बजार घटेको जानकार बताउँछन् । गत साउन ३१ गते ३ हजार विन्दुमा पुगेको नेप्से त्यसयता करीब साढे ६ सय अंक घटिसकेको छ ।

बजार बढ्दा प्रोफिट बुक गरी बसेका लगानीकर्ताहरू बजार प्रवेश नगरेकाले कारोबार रकम कम भएको जानकार बताउँछन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६३ प्रतिशत घटेको छ । 

३२७ धितोपत्रको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटकमा रू. ४ अर्ब ५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ५५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ९० पुगेको छ । त्यस्तै कुमारी सबल फण्डको इकाई मूल्य ६ दशमलव ४९ प्रतिशत बढेर रू. ९ दशमलव ०२ पुगेको छ । 

आइतवार सबैभन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८०५ दशमलव ४० मा झरेको छ । त्यस्तै एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई मूल्य ९ दशमलव ४५ प्रतिशत घटेर रू. ९ दशमलव ९६ कायम भएको छ । 

यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनएलजी इन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. १५ करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३७५ कायम भएको छ । 

कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट स्वीकृति पाएकाले सर्वाधिक किनबेच भएको जानकार बताउँछन् । 

शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा सिईडिबि हाइड्रोपावर छ । कम्पनीको रू. १५ करोडभन्दा बढीको शेयर खरीदविक्री भएको छ । 

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा  प्रशोधन समूहको सूचक १ दशमलव ०३ प्रतिशत वृद्धि भएको छ भने बाँकीकाे सूचक घटेको छ। तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशमलव ९७ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत् समूहको सूचक २ दशमलव ३६ प्रतिशत घटेको छ ।

देशभर गएको बाढीपहिरोका कारण कतिपय जलविद्युत् परियोजनामा क्षति भएको छ । यसकारण आइतवार जलविद्युत् समूह अलि बढी प्रभावित भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।