गोललाइन प्रविधि फूटबलमा क्रान्तिकारी परिवर्तन

Share News

करीब ५ दशक बितिसक्दा समेत जिअफ हष्र्टले सन् १९६६ को विश्वकपमा गरेको निर्णायक गोल अझै विवादास्पद छ । पश्चिम जर्मनीविरुद्ध इङ्ग्ल्याण्डका लागि उनले फाइनल खेलमा गरेको उक्त गोल जितका लागि निर्णायक सावित भयो । तर, गोल हुने क्रममा बल क्रशबारमा ठोकिएर वास्तविक लाइन पार गरे/नगरेकोबारे भने अझै पुष्टि हुन सकेको छैन । स्पष्ट प्रमाणको अभावमा आफूलाई स्वीकार्य होस् वा नहोस्, इङ्ग्ल्याण्डले हासिल गर्न सफल विश्वकपको एकमात्र यो उपाधि उसको हकमा छैन भन्न जर्मनीले पाउनेछैन । विश्वकपलगायत अन्य धेरै खेलमा यस्तो विवाद पटकपटक हुँदै आएको छ । तर, अब भने यस्ता समस्याको अन्त्य भएको दाबी गर्न थालिएको छ । किनभने, फूटबल खेलकै सर्वाधिक ठूलो मञ्च मानिने विश्वकपको यो संस्करणका लागि ब्राजिलका स्टेडियममा क्रशलाइन प्रविधि प्रयोग गर्ने निर्णय गरिएको छ । १४ ओटा क्यामेरासहितको यो प्रणालीको निर्माण जर्मन कम्पनी ‘गोल कण्ट्रोल’ले गरेको हो । यसमा रहेका क्यामेराले गोलमाउथ (गोल रेखा)मा प्रत्यक्ष निगरानी राख्न सघाउनेछ । यसले बलको तस्वीर ‘थ्री डायमेन्शन’मा लिएर गोल भए/नभएकोबारे प्रमाणसहित उत्तर दिन सघाउनेछ । यो प्रविधिले बलले गोललाइन पार गरेको अवस्थामा खेलका रेफ्रीको घडीमा भाइब्रेशन (कम्पन)का साथै प्रकाशसम्बन्धी सङ्केत प्रवाह गर्छ । यसले रेफ्रीलाई गोल भएको निश्चित गरी विश्वासिलो निर्णय लिन सहयोग गर्छ ।

‘विश्वकपमा प्रयोग हुने प्रविधिको विकासमा हामीले कुनै कमजोरी हुन दिएका छैनौं,’ गोलकण्ट्रोलका प्रबन्ध निर्देशक डिर्क ब्रोइसुसेनले भने, ‘यो प्रविधि निकै विश्वासिलो छ ।’ प्रविधिको सार्थकता प्रमाणित गर्न विश्वकप फूटबल निकै ठूलो रङ्गमञ्च भएको उनले बताए । यसले आफ्नो प्रविधिलाई विश्वसामु पहिचान दिलाउन निकै सहयोग मिल्ने उनको अपेक्षा छ । सन् २०१० मा दक्षिण अफ्रिकामा इङ्ग्ल्याण्ड र जर्मनीबीच भएको खेलमा यसको आवश्यकता झन् महसूस गरिएको थियो । जब इङ्ग्ल्याण्डका मिडफिल्डर फ्र्याङ्क ल्याम्पार्डले ३८औं मिनेटमा गरेको गोल अफिसियलहरूले नदेखेका कारण अस्वीकार गरियो । सो समयमा जर्मनीले खेलमा २–१ को झिनो अग्रता लिएको थियो । विवादग्रस्त खेलको अन्त्यसम्ममा जर्मनीले एकको विरुद्ध चार गोलको अन्तरले जित हात पार्‍यो । यदि, ल्याम्पार्डले गरेको गोलले मान्यता पाएको भए खेलले अर्कै मोड लिन सक्ने सम्भावनासमेत थियो । तर, स्पष्ट निर्णयको अभावमा पनि खेल जर्मनी विजयी भयो । यसरी विश्वकपमा पटकपटक दोहोरिने निर्णयात्मक समस्याको समाधानका लागि गोललाइन प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने फिफाका अध्यक्ष सेप ब्लाटरले बताए । खेलसम्बन्धी नियम बनाउने संस्था द इण्टरनेशनल फूटवल एशोसिएशन बोर्डले सन् २०१२ मा फिफाअन्तर्गतका टुर्नामेण्टमा कम्प्युटरको सहायताले (कम्प्युटर एसिष्टेड) निर्णय लिने एतिहासिक कदम चाल्यो । यसका लागि संस्थाले गोललाइनको छनोट गर्‍यो । यसले फूटबल जगत्लाई नै आश्चर्यमा पार्‍यो । किनभने, यसभन्दा अघि इङ्ग्लिसश प्रिमियर लीगमा गोलसम्बन्धी निर्णय गर्न हक आईको यस्तै प्रविधिको प्रयोग गरिएको थियो । पछिल्लो कन्फिडेरेशन कपमा कुनै समस्याविना प्रयोग भई गोललाइनले आफ्नो क्षमताको प्रदर्शन गरिसकेको छ । कन्फिडेरेशन कपलाई विश्वकपपूर्वको ‘वार्मअप’ प्रतियोगिताका रूपमा लिइन्छ ।

‘गोललाइन प्रविधि अब फूटबल खेलको एक अभिन्न अङ्गका रूपमा स्थापित हुने हामीलाई पूर्ण विश्वास छ,’ ब्रोइसुसेनले भने, ‘यो प्रविधिले अफसाइडलगायत खेलसँग सम्बन्धित विभिन्न निर्णय लिनसमेत उल्लेख्य भूमिका निर्वाह गर्नेछ ।’ टेनिश, क्रिकेट, बेसबल, अमेरिकन फूटबललगायत विभिन्न खेलमा झैं यसपटक विश्वकपअन्तर्गतका खेलमा भ्यानिसिङ स्प्रेको समेत प्रयोग गरिनेछ । यो स्प्रेले भने फ्री–किक, अफसाइडलगायतको स्पष्ट जानकारी रेफ्रीलाई उपलब्ध गराउँछ, जसले गर्दा रेफ्रीलाई सही निर्णय लिन थप सहयोग मिल्नेछ । रेफ्रीले पानीमा आधारित सेभिङ क्रिमजस्तो फोमको प्रयोग फ्री–किकका समयमा रक्षात्मक पङ्क्तिको अगाडि प्रयोग गर्नेछन् । यसले फ्री–किकका बेला १० यार्ड दूरी कायम राख्नुपर्ने निर्णयको पालना गर्न सघाउनेछ । साथै, बलनजिक गोलाकारमा समेत यसको स्प्रे (छर्कने) गरिनेछ, जसले गर्दा बल प्रहार गर्ने खेलाडीले यसलाई अगाडि धकेल्न पाउँदैन । खेलका क्रममा छर्किने यो फोम मेटिन ४५ सेकेण्डदेखि २ मिनेटसम्म लाग्ने बताइएको छ ।

भ्यानिसिङ स्प्रेको अवधारणाका प्रतिपादक अर्जेण्टिनियन पत्रकार पाब्लो सिल्भालाई मानिन्छ । सन् २००२ मा आफ्ना पुराना विद्यालय अध्ययन गर्दाको समयका साथीहरूसँग खेल खेल्ने क्रममा डिफेण्डर (रक्षापङ्क्ति)ले बलसँग अनपेक्षित सम्पर्क बनाउँदा उनले आक्रोश व्यक्त गरेका थिए । यसैका कारण उनलाई मैदानबाट निष्कासन गरियो । यसपश्चात् रसायन शास्त्रका इञ्जिनीयरहरूसँग सहकार्य गर्दै उनले यस प्रविधिको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । यसको आविष्कारपछि सन् २००८ देखि अर्जेण्टिनाका साना लिगहरूमा यसको प्रयोग गर्न थालियो । पछि कोपा सुदअमेरिकाना, कोपा लिवरटादोर्स र विभिन्न प्रमुख लीगमा समेत यसको प्रयोगले व्यापकता पाउन थाल्यो । क्रमिक रूपमा फिफा यूथ टुर्नामेण्ट्स हुँदै विश्वकपमा यसले स्थान पाएको हो ।

१० यार्डलाई मिटर कायम गरी यही दूरीमा आधारित रहेर यसको अफिसियल नाम ९:१५ राखिएको छ । विश्वकपमा प्रयोग गर्नुपूर्व विश्वभर करीब १५ हजार खेलमा यसको प्रयोग गरिसकिएको पत्रकार सिल्भाले एपीलाई फोन अन्तरवार्ताका क्रममा बताएका छन् । रेफ्रीले हलुका तौलसहितको फोम डिस्पेन्सर आफ्नो सोर्ट्स कट्टुमा सजिलै जडान गरी खेलमा प्रयोग गर्नेछन् । ‘क्यान (बट्टा) तथा मार्क (दाग) यसको समस्या होइन, बरु खेलका क्रममा बोक्नु चाहिँ समस्या भएको हामीले औंल्यायौं,’ सिल्भाले भने, ‘त्यसैले, रेफ्रीले यसलाई सजिलै बोक्न सकून् भनेर होल्डरको निर्माण गर्‍यौं ।’ यसले रेफ्रीलाई सजिलो बनाउनुका साथै खेलमा नयाँ आयाम थप्ने उनको भनाइ छ । रेफ्रीले मैदानमा फोम छर्कंदै गरेको, गोललाइनबाट निर्णय ठूलो पर्दामा प्रेषित गरेकोलगायत नौला दृश्य विश्वकप–२०१४ मा हामीले हेर्न पाउनेछौं ।

एजेन्सीको सहयोगमा

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।