कार्डमा आधारित विप्रेषण सेवाका लागि नबिल बैंक र हाम्रो पात्रोबीच समझदारी

Share News

काठमाडौं। नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)बीच कार्डमा आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । बैंकका एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजका वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमवार समझदारीपत्र (एमओयु)मा हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीबीच भएको सम्झौताअनुसार बैंकले कार्डमा आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने बताइएको छ, जसअन्तर्गत आफ्नो अन्तरराष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवाअन्तर्गत प्रयोगकर्ताले न्यूनतम १०० देखि अधिकतम ५ हजार अमेरिकी डलरसम्म पठाउन सक्नेछन् । बैंकका अनुसार रेमिट्यान्स प्राप्तकर्ताले नेपालभित्रका जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् । बैंकले सन् २०२२ डिसेम्बरदेखि एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो ।

बैंकका अन्तरराष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले यो बैंकिङ सेवाका लागि एउटा कोसेढुंगा भएको बताए । उनले भने, ‘किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ ।’ यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।