काठमाडौं। एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माणमा सहयोग गरेको छ । भवनको एक कार्यक्रमबीच गत असोज १६ गते उद्घाटन गरिएको हो ।
बैंकले विभिन्न सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणमा सहयोग गर्दै आएको छ । विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सृजना गर्न पुस्तकालयमा सहयोग गरिएको बताइएको छ । विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागिता र बैंकको सहयोगमा पुस्तकालय निर्माण गरिएको बताइएको छ ।
पुस्तकालय उद्घाटन कार्यक्रममा सोही गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, बैंकका गण्डकी प्रदेश—३ का प्रमुख चुडामणि पराजुली र सम्बन्धित विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो । यस पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करीब १ हजार १२५ विद्यार्थी तथा शिक्षक/शिक्षिका प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
बैंकले यसअघि विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पुस्तकालय भवन निर्माणमा सहयोग गरिसकेको छ । पुस्तकालय भवन निर्माण सहयोगका लागि बैंकले रू. २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।