शेयरबजार विश्लेषकलाई लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न धितोपत्र बोर्डको पहल

Share News

काठमाडौं । नेपालको धितोपत्र बजारमा निश्चित कम्पनीको शेयरमा लगानी गर्न उक्साउने स्वघोषित ‘बजार विश्लेषक’को संख्या बढ्न थालेसँगै तिनलाई लाइसेन्सको दायरामा ल्याउने तयारीमा नेपाल धितोपत्र बोर्ड लागेको छ । 

स्वघोषित विश्लेषकको पछि लाग्दा आफ्नो लगानी डुब्न गएको गुनासो आउने क्रम बढेपछि नेपाल धितोपत्र बोर्डले उनीहरूलाई नियमनको दायरामा ल्याउन खोजेको बोर्डका एक उच्च अधिकारीले जानकारी दिए । 

बोर्डका कार्यकारी निर्देशक एवं प्रशासकीय प्रमुख डा. नवराज अधिकारीले वित्तीय क्षेत्र विकास रणनीतिअन्तर्गत बजार विश्लेषक एवं लगानी सल्लाहकारको लाइसेन्स दिन आवश्यक गृहकार्य भइरहेको आर्थिक अभियानलाई बताए । ‘आगामी दिनमा लाइसेन्स लिएर मात्र बजारका सम्बन्धमा अभिव्यक्ति दिन पाउने व्यवस्था गर्न लागिएको छ,’ उनले भने, ‘अहिले धितोपत्र बजारमा आफूलाई विश्लेषक भन्दै निश्चित कम्पनीको शेयर किन्न उक्साउने समस्याले विकराल रूप लिइरहेको छ ।’

छिमेकी भारतमा सन् २०१४ देखि नै रिसर्च एनलिस्टका रूपमा काम गर्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) को रिसर्च एनलिस्ट रेगुलेशन २०१४ अनुसार कुनै व्यक्ति वा संस्थाले शेयरबजारको अनुसन्धान विश्लेषकका रूपमा काम गर्न सेबीबाट अनिवार्य रूपमा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्था लगानीकर्ता र बजारमा सहभागी हुने अन्य सरोकारवालाको हित रक्षार्थ गरिएको हो । इन्भेस्टमेन्ट एडभाइजर, क्रेडिट रेटिङ एजेन्सी, सम्पत्ति व्यवस्थापन कम्पनी र कोष व्यवस्थापक कम्पनीका हकमा भने छुट्टै अनुमतिपत्र लिन नपर्ने व्यवस्था सेबीको नियमावलीमा गरिएको छ ।

  •  स्वघोषित ‘शेयर विश्लेषक’को पछि लाग्दा लगानी डुबेको गुनासा दिनदिनै बढ्दो क्रममा
  •  नेपाल धितोपत्र बोर्ड शेयरबजार विश्लेषकले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने गृहकार्यमा
  •  भारतमा शेयरबजारको अनुसन्धान विश्लेषकका रूपमा काम गर्न अनुमतिपत्र लिनुपर्ने व्यवस्था

नेपालमा भने जसलाई पनि शेयर विश्लेषक हुन छूट छ । हालै शेयर बजार उकालो लागेर फेरि ओरालो लाएपछि कतिपयको लगानीमा घाटा लागेको थियो । कतिपय लगानीकर्ताले स्वघोषित शेयर विश्लेषकको पछि लाग्दा लगानी डुबेको गुनासो गरेका थिए । लामो समयदेखि घाटामा रहेका वा लगानीकर्तालाई लाभांश दिन नसकेका कम्पनीहरूको शेयर मूल्य पनि अस्वाभाविक रूपमा आकाशिएपछि यस्ता शेयर विश्लेषकमाथि प्रश्न उठेको छ । 

त्यसपछि एक सूचना निकाल्दै नेपाल स्टक एक्सचेन्जले कसैलाई पनि शेयर विश्लेषकको अनुमतिपत्र नदिएको स्पष्ट पारेको थियो । यो समस्या हल गर्न अनुमति लिनुपर्ने गरी कानूनी व्यवस्था गर्न लागिएको डा. अधिकारीले जानकारी दिए । 

नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले पनि पछिल्लो समय बजार विश्लेषकको नाममा बढेको विकृति रोक्न कानूनी प्रबन्ध आवश्यक रहेको बताए । 

फेसबुक, ट्विटर, क्लबहाउस लगायत सामाजिक सञ्जाल वा आम सञ्चारमाध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाएर लगानी गर्दा जोखिममा पर्न सक्ने भन्दै उनले आम लगानीकर्तालाई बुझेर मात्र लगानीको निर्णय लिन सुझाव दिए । 

लगानीकर्ता पनि तिनै विश्लेषकको कुरामा लागेर गलत निर्णयको शिकार बन्न पुगेको बताउँछन् । तीन वर्षदेखि धितोपत्र बजारमा लगानी गरिरहेका सिन्धुलीका लक्ष्मण घिमिरे क्लबहाउस र युट्युबमा गरिएको विश्लेषणका आधारमा गरेको आफ्नो केही लगानी जोखिममा परेको बताउँछन् । 

अहिले पनि विभिन्न विश्लेषकको विश्लेषण सुन्न क्लबहाउस छिर्ने गरेका उनी सोझासीधा लगानीकर्ताले स्वघोषित विश्लेषकलाई विश्वास गरिरहेको बताउँछन् । 

लगानीकर्ताको हकहितका लागि लामो समयदेखि धितोपत्र बजारमा सक्रिय नयन बास्तोला जोसुकैले बजार विश्लेषण गर्ने प्रवृत्ति रोक्नैपर्ने बताउँछन् । पाँच वर्षअघि नै आफूलगायत अन्य लगानीकर्ता संघका प्रतिनिधिले नेपाल स्टक एक्सचेन्जलाई लिखित रूपमै यस्तोे अभ्यास रोक्न आग्रह गरेको उनी बताउँछन् ।

कारोबार भइरहेको समयमा क्लबहाउस, फेसबुक लाइभमार्फत आफूलाई विश्लेषकका रूपमा उभ्याउँदै लगानीका लागि उक्साउने परिपाटीले पछिल्लो समय विकराल रूप लिएका हुँदा नियामक निकायले आधिकारिक रूपमै बजार विश्लेषकको परिचय खुल्ने गरी लाइसेन्स वितरण गर्नुपर्नेमा बास्तोलाले जोड दिए । 

सामाजिक सञ्जालमार्फत कारोबार अवधिमै क्लबहाउसमा छलफल चलाउनेमा लगानीकर्ता दीपेन्द्र अग्रवाल पनि पर्छन् । तर, उनी आफ्नो ३० वर्षको अनुभव साटासाट गर्ने गरेको बताउँदै आफूले कुनै अपराध नगरेको दाबी गर्छन् । ‘लगानीको अनुभव साट्न लाइसेन्स लिनु परे पनि म तयार नै छु,’ उनले भने ।

अहिले समग्र बजारको प्राविधिक विश्लेषणदेखि सूचीकृत कम्पनीको आधारभूतसँगै प्राविधिक विश्लेषण गरेर प्रक्षेपण गर्ने परिपाटी बढ्दो क्रममा देखिन्छ । नेपालको धितोपत्र बजार सूचनाका आधारमा चल्छ । पछिल्लो समय लगानीकर्ताले धितोपत्रको सूचनाको मुख्य आधार सामाजिक सञ्जाललाई बनाउने गरेकाले पनि समस्या देखिएको जानकार बताउँछन् । लगानीकर्ताको संख्या बढ्दै जाँदा वित्तीय साक्षरताका कार्यक्रमसमेत बढाउँदै लैजानुपर्ने आवश्यकता उनीहरूले औंल्याएका छन् । 

नेपालको धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या कारोबारका लागि अनिवार्य गरिएको डिम्याट (हितग्राही) खाताको आधारमा ६४ लाखभन्दा बढी छ । तर, धितोपत्रको दोस्रो बजार कारोबारमा २३ लाखभन्दा बढी लगानीकर्ता जोडिएको बजार सञ्चालक नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।