राष्ट्रिय वाणिज्य बैंकले रू. १० लाखसम्म कृषि कर्जा दिने

Share News

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कृषि क्षेत्रको विकासका लागि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ कार्यक्रम अन्तर्गत ‘किसान सरल कर्जा’ प्रडक्ट शुरू गरेको छ । १० लाख रकमभित्र १ लाख रुपैयाँ बराबरको किसान क्रेडिट कार्डसमेत लिन सकिने बताइएको छ ।

कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानूनी रूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले कर्जाका लागि आवेदन दिन सक्नेछन् । बैंकको कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित)अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालू पूँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने बताइएको छ । 

आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्नेछ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रूपमा रहने छ भने आवश्यकता अनुसार घर/जग्गासमेत धितो सुरक्षणको रूपमा स्वीकार गर्न सकिनेछ । बीमा सुविधासमेत रहेको यो कर्जा सुविधाका लागि बैंकको देशैभर रहेका शाखा कार्यालयबाट आवेदन दिन सकिने बताइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।