राष्ट्रिय वाणिज्य बैंकका अधिकृतलाई पूर्व सेवाकालीन तालीम

Share News

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट प्रदेशगत रूपमा छनोट भएका ११७ जना नवनियुक्त अधिकृतलाई चौधदिने पूर्व सेवाकालीन तालीम बिहीवारदेखि काठमाडौंमा सञ्चालन गरेको छ ।

तालीमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्देश्य कार्यान्वयनमा ठूलो संख्याको जनशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताए । जनताको ठूलो विश्वास बैंकप्रति रहेको हुँदा व्यावसायिक ढंगबाट कार्य गर्ने सोच बनाउनुपर्ने बताए । विभिन्न प्रक्रियापश्चात् बैंकले एकपटक ठूलो संख्यामा युवा अधिकृतलाई नियुक्ति दिएर बैंकिङ क्षेत्रमार्फत देश र नागरिकको सेवा गर्ने अवसर प्रदान गरेको उनले बताए । अरु सहायकस्तरका कर्मचारीको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि बैंकले दिने सेवा र उत्पादकत्व बढ्ने उनको भनाइ छ । 

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र वरिष्ठ प्रबन्धक तहका ११७ जना अधिकृतलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका थिए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, रामकुमार थापा र तालीम तथा सिकाइ विभागका विभागीय प्रमुख पद्मालक्ष्मी जिसी लगायत कर्मचारीको उपस्थिति थियो ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।