मुस्ताङबाट ९२ करोडभन्दा बढीको स्याउ निर्यात

फाइल तस्वीर ।

Share News

म्याग्दी। मुस्ताङबाट यस वर्ष रू. ९२ करोडभन्दा बढीको स्याउ निकासी भएको छ । कृषि ज्ञान केन्द्र, मुस्ताङको प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । गतवर्ष जिल्लाबाट रू. ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएको थियो ।

‘यस वर्ष रू. ९२ करोडभन्दा बढीको हाराहारीमा स्याउ निकासी भएको पाएका छौं, पूरै तथ्यांक अझै आइसकेको छैन,’ कृषि ज्ञान केन्द्र, मुस्ताङका प्रमुख राजेश गुरुङले भने । केन्द्रका अनुसार यस वर्ष जिल्लामा अहिलेसम्मकै बढी स्याउ उत्पादन भएको छ । यस वर्ष सात हजार ३३० मेट्रिक टन स्याउ उत्पादन भएको गुरुङले जानकारी दिए । यस वर्ष स्याउको फूल फूल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन बढेको हो ।

गतवर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन ११ प्रतिशतले बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष ६ हजार ५९६ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । 

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको तथ्यांक अनुसार मुस्ताङमा स्थानीय जातको स्याउ ६ हजार ७८ मेट्रिक टन उत्पादन भएको छ । स्थानीय जातको स्याउ ८३० हेक्टर क्षेत्रफलमा लगाइएकोमा ५६६ हेक्टर क्षेत्रफलको स्याउका बोटबाट उत्पादन भइरहेको छ । यस वर्ष किसानबाट खरीद गर्दा व्यापारीले प्रतिकिलो औसत मूल्य ११० रुपैयाँ दिएका छन् ।

स्थानीय जातका स्याउ प्रतिकेजी ११० रुपैयाँ र हाइब्रिड स्याउ प्रतिकेजी दुई सय रुपैयाँमा विक्री भएको कृषि ज्ञान केन्द्र, मुस्ताङका प्रमुख गुरुङले जानकारी दिए । यस वर्ष ६० करोड १८ लाख रुपैयाँ बराबरको स्थानीय जातको स्याउ निकासी हुने अनुमान गरिएकोमा ६६ करोडभन्दा बढीको निकासी भएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले बताए ।

मुस्ताङमा उत्पादित १० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । बाँकी रहेको ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौं लगायत शहरमा निकासी हुने गरेको छ ।

मुस्ताङमा उत्पादित १० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । बाँकी रहेको ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौं लगायत शहरमा निकासी हुने गरेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।