बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ३ महीनाको अवधिमा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार चालु आव २०८१/८२ को पहिलो ३ महीनामा १ अर्ब ८६ करोड ७५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा १ अर्ब ५७ करोड ८९ लाख राजस्व सङ्कलन भएको छ ।
यही साउनदेखि असोज महीनासम्मको अवधिमा अन्त:शुल्कतर्फ १ अर्ब ४१ लाख, आयकरतर्फ २० करोड ४४ लाख, मूल्यअभिवृद्धि करतर्फ १८ करोड ८५ लाख, स्वास्थ्य जोखिम करतर्फ १५ करोड ९९ लाख, ब्याजकरतर्फ रु एक करोड ८१ लाख र बहालकर तर्फ ३६ लाख राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताए । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को अवधिको तुलनामा बढी राजस्व सङ्कलन भएको हो ।
अघिल्लो आव २०८०/८१ को पहिलो ३ महीनामा १ अर्ब ८८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ७५ प्रतिशत अर्थात् १ अर्ब ४१ करोड राजस्व सङ्कलन भएको थियो । प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ मा ८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य छ । सो कार्यालयमा आयकरतर्फ ३२ हजार ८९८, मूल्य अभिवृद्धितर्फ ५ हजार ८०४, अन्त:शुल्कतर्फ १ हजार ५८३, विथहोल्डतर्फ सात सय पाँच र व्यक्तिगततर्फका ७९ हजार ४४४ करदाता रहेका छन् ।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु र नियमित बजार अनुगमन हुनुजस्ता कारणले अघिल्लो वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सुधार आएको प्रमुख सुवेदीको भनाइ छ । कार्यालयबाट व्यवसायी करदाता प्रमाणपत्र (प्यान) लिएकामध्ये धेरैजसो करदाताले लामो समयदेखि वार्षिक आय विवरण नबुझाएपछि कार्यालयले त्यस्ता करदाताको अभिलेख तयार पारेर कारबाही अघि बढाएको हो ।
वार्षिक आय विवरण नबुझाउनेमध्ये धेरैजसो ३० लाखसम्मको कारोबार भएका साना करदाता र उपभोक्ता समिति छन् । साथै ती करदाताको नामावलीसहित आय विवरण बुझाउनका लागि पहल गरिदिन मकवानपुर जिल्लाका १० ओटै पालिकालाई पत्राचार गरिएको प्रमुख सुवेदीले बताए । व्यावसायिक करदाता प्रमाणपत्र लिएकामध्ये कतिपय करदाताको मृत्यु भएको, कतिपय वैदेशिक रोजगारीमा गएको र कतिपयले व्यवसायी बिक्री गरिसकेको कारणले पनि समयमा आय विवरण नबुझाउने करदाताको सङ्ख्या बढी देखिएको हुनसक्ने उनको कथन छ ।
यस्तै सो कार्यालयले लामो समयदेखि कर नबुझाउने करदातामाथि समेत कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता र सम्पत्ति रोक्का गरिएको प्रमुख सुवेदीले बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।